बेलायतको ‘रेड लिस्ट’बाट हट्यो नेपाल

बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची) बाट हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् । तर अझै पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश बेलायतको रातो सूचीमा कायम छन् ।

ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’ भएको बताएका बीबीसीले उल्लेख गरेको छ । ‘रेड लिस्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टाइन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउन्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्ने हुँदा नेपालसहितका यात्रुलाई निकै सास्ती भइरहेको थियो । नेपालबाट अध्ययनका लागि जाने विद्यार्थीसमेत चर्को मूल्य तिर्न बाध्य थिए । अब होटल क्वारेन्टाइनको बाध्यकारी नियम हटेको छ । यात्रा गर्नुअघि पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट भने जरुरी छ ।

कोरोना महामारी र लकडाउनका कारण गतवर्ष पनि नेपाल जान नपाएका बेलायतवासी नेपालीलाई दसैँको मुखमा गरिएको यो निर्णयले ठूलो राहत मिलेको छ । नेपाललाई रेड्लिष्टबाट हटाउनको लागि नेपाली दूतावासलगायत बेलायतका विभिन्न संघसंस्थाहरूले आवाज उठाउँदै आएका थिए ।

प्रतिक्रिया