मालचरी र दशैको सम्बन्ध !

लेखक : डिल्ली राज गिरी

महान चाड दशै बर्खा पछी बसन्त ऋतुको आगमन संगै भित्रिने हिन्दुहरु को प्रमुख चाड हो,भने नेपालमा बसोबास गर्ने सम्पुर्ण जातजाति तथा धर्मावलम्बीहरु ले नेपाल कै चाडका रुपमा मनाउने साझा पर्व हो ।

दशै को धार्मिक,साँस्कृतिक महत्त्वका बारेमा म खासै जान चाहन्न,किनभने हामीहरु ले पू्र्खा देखि नै मान्दै आएको र अहिलेको विकसित परिस्थितिमा समेत हामीले दशै को महत्त्व तथा विशेषताका बारे धेरै थोरै जानकार छौ । खासगरी यहाँ मालचरी लाई दशै संग जाेडेर लेख्ने कोशिस गरेको छु ।

हामी सबैले देखेको चरी मालचरी।मालचरी को बैज्ञानिक नामका बारेमा त म त्यति जानकार छैन,तर एक प्रकारको बकुल्ला जातिको चरामा मालचरी पर्छ होला । यसलाई तालचरी,हाँसी बकुल्ला को समेत नाम ले हाम्रो समाजमा चिनिन्छ । यसलाई अति उच्च उचाईमा सामुहिक रूपमा उड्ने चराको रुपमा पनि लिइन्छ ।

मालचरी खासगरी बर्षमा एक पटक दशैकै आसपास को समयमा हिमालय पर्वत श्रृङखला हुदै नेपालको बाटो भएर समुद्री क्षेत्रमा आफ्नो सुरिलो आवाज हाँस्दै,कराउँदै या मानौ रुदै हाम्रा सामु दशै लगायतका चाडपर्व आगमनको सूचना  प्रत्येक गाउँ,घर तथा समाजलाई गराउदै,बालबालिका लाई रमाइलो प्रदान गर्दै,कसैलाई रुवाउदै जाने गर्दछ्न ।

समुद्री क्षेत्र बाट हिमालय पर्वत तिर जाँदा खासै थाहा नहुने मालचरी हिमालय पर्वत तिर बाट जाँदा ठूलै तामझामका साथ लामो माला आकार समुह बनाएर जाने भएको हुनाले पनि प्राय सबैको ध्यान आकर्षण गरेको हुन्छ।

मालचरी र दशैको सम्बन्ध धेरै पुरानो र रहस्यमय छ। सधैका बर्षहरुमा एकै समय त्यो पनि दशै कै ताका मालचरी को आगमन संयोग मात्र नभई रहस्यमय पनि छ। सदियौ देखि एकै समयमा देखिने मालचरीलाई शान्तिको प्रतिक पनि मान्न सकिन्छ । सानो उमेरमा हामी लाई मालचरीहरु ले एउटा छुट्टै प्रकारको मनोरञ्जन दिन्थे ।

आकाशमा मालचरी देखियो कि तुरुन्तै आएर हेरी हाल्नु पर्ने,त्यो पनि क्षितिज पार नगर्दा सम्म । आखिर एउटा चरा ले पनि आफ्नो कर्तव्य निभाइ रहेको छ , जुन हामी बाट संभव छैन । कतिपय लाई मालचरी ले रुवाएर पनि  जाने गरेको छ । खासगरी प्रदेशमा रहेका आफ्ना आफन्तहरु को सम्झना त्यो एउटा सामान्य चराले गराइदिने गर्दछ ।

कतिपय मानिसहरु दशैमा आफन्तहरु आउने पर्खाइमा हुन्छन् ,भने कतिपय आफन्तहरु प्रदेश बाट दशैमा नआउने कुराको पिरलोमा हुन्छन् । त्यस्ता प्रकारका भावनाहरु लाई मालचरीले त्यही तरिकाले सम्बोधन गरिदिएको हुन्छ,जुन उनीहरु भोगिरहेका हुन्छन्। सायद मालचरीहरु लाई नि दुख महसुस हुदो हो कि यो पबित्र भुमि छोडेर जानुको,जसरी हाम्रा प्रदेशी दाजु भाइहरु लाई आफ्नो देश छोडेर जानुको पिडा हुन्छ । त्यसैले त ती मालचरी हरु कराउँदै जाँदा हुन।

समय फेरियो दिनहरु फेरिए,हाम्रो दशै मनाउने तरिकाहरु फेरिए तर मालचरी को आगमन को समय कहिले पनि फेरिएना । जसरी सदियौ देखि आइरहेका थिए, त्यसरी नै अहिले पनि आइरहेका छन । मात्र संख्यामा कमी भए होलान् तर हामीलाई दशै लगायतका चाडपर्व आगमनको सूचना दिन कहिले नि छोडेनन। हामीलाई प्रायःमालचरी भन्न बित्तिकै दशैको सम्झना आउने गर्दछ ।

जुन ती मालचरीले हामीलाई छोडेको अविस्मरणीय छाप हो । हाम्रो नेपाली समाज संग अटुट नाता गाँसेर मालचरीहरु ले आफ्नो अस्तित्वलाई सधैभरि हाम्रा सामु जोगाइ राखे , त्यसरी नै हामीले हाम्रो संस्कार हाम्रा चाडपर्वहरु लाई जोगाउनु पर्ने हुन्छ । हामीले दशै लगायतका चाडपर्वहरु भुल्दै गयौं भने ती मालचरीहरु लाई ठुलो अन्याय हुनेछ ।

जसले हाम्रा हरेक प्रकारका भावनाहरु को प्रतिनिधित्व गर्यो । दशै भुल्नु भनेको मालचरी भुल्नु सरह हो , तर मालचरीहरु ले आफ्नो कर्तव्य कहिले पनि भुल्न सकेनन् । त्यसरी नै हामीले पनि हाम्रो कर्तव्य हाम्रा संस्कारहरु तथा चाडपर्वहरु प्रति पूरा गरौ । विजया दशमीको सबैमा हार्दिक शुभकामना ।

प्रतिक्रिया