भारतमा बढ्दै कोरोना : नेपालगंज उच्च जोखिममा, सीमामा दैनिक भेटिन्छन पोजेटिभ केश

नेपालगंज : भारतमा कोरोना महामारीले तेस्रो लहरको रुप लिदै गर्दा नेपालगन्ज पनि कोरोनाको तेस्रो लहरको चपेटामा पर्ने आशंका गर्न थालिएको छ ।

भारतमा कोरोनाको ओमिक्रोन भेरिएन्टको केश बढ्दै गएको छ भने कोरोना संक्रमणको केश समेत एक्कासि बढ्दै गएको छ ।

त्यस्तोमा नेपाल भारत सिमानाकामा पर्ने नेपालगन्ज कोरोनाको उच्च जोखिममा रहेको छ । त्यसैमा भारतबाट नेपाल आउनेहरुमा दैनिक जसो कोरोना संक्रमण पुष्टि हुदै गएको छ ।

नेपालगन्ज नाकामा सोमवार मात्र १० जनामा कोरोना पुष्टि भएको छ । कामका लागि भारत गएर फर्किने नेपालीको एन्टिजेन मार्फत कोरोना जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको हो । आइतवार समेत भारतबाट फर्किदै गरेका एक पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

त्यस्तै मंगलबार नेपालगन्ज जमुनहा नाकास्थित हेल्थ डेस्कमा कोरोना जाँच गर्दा चार जनामा कोरोना पुष्टि भएको छ । ति मध्ये तीन भारतीय र एक नेपाली रहेका थिए । यता बुधबार नेपालगन्ज जमुनहा नाकास्थित हेल्थ डेस्कका अनुसार दिउसो एक बजेसम्म भारतबाट नेपाल आउने दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रोजगारको लागि भारत गएका नेपालीहरु नेपाल फर्किदा र भारतबाट नेपाल रोजगारका लागि नेपाल आउने यात्रुहरुको नेपालगन्ज सिमानाकामा एन्टिजेन बिधिबाट कोरोना परिक्षण गरिन्छ । नेपालबाट किनमेल तथा भारतबाट नेपालगन्ज घुमफिरका लागि आउनेहरुमा भने कोरोना परिक्षण हुँदैन ।

उता भारतबाट नेपाल आउने यात्रुहरूको नेपालगन्जमा कोरोना चेकजांचको क्रममा देखा परेका पोजेटिभ केसहरु कोरोनाको ओमिक्रोन भेरिएन्ट हुनसक्ने भन्दै स्थानियहरु चिन्तित बनेका छन् । खुल्ला सिमानाका र पहिलो तथा दोअरो लहरमा समेत नेपालगन्ज कोरोनाकै कारण थलिएकाले पनि नेपालगन्ज पुनः कोरोनाको केन्द्र हुनसक्ने भन्दै चिन्ता बढेको छ ।

प्रतिक्रिया