नेपालगन्ज :
बाँके प्रहरीले भारतबाट अवैधरुपमा भित्र्याइएको कुखुराको मासु बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकास्थित बाबुगाउँबाट ५० किलो मासु बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले वेवारिसे अवस्थामा रहेको मासु बरामद गरेको जनाइएको छ ।
बरामद गरिएको मासु पशु क्वारेन्टिनमा लगिएको छ । उक्त मासु त्यही नष्ट गरिने छ । भारतमा बोइलर कुखुरा सस्तोमा पाइने भएपछि तस्करहरुले पारिको मासु नेपालमा ल्याएर विक्री गर्ने गरेका छन् ।
भारतबाट यसरी भित्र्याइने मासु जमुनाह मासु बन्डिमा विक्री हुने गरेको बताउने गरिन्छ । तर प्रहरीले आज जमुनाह मासु बन्डीमा समेत छापा मारेको छ । तर मासु भने बरामद नभएको बताइएको छ । सशस्त्र प्रहरीसँगको सहकार्यमा प्रहरीले छापा मारेको हो ।











