बाँके : नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर-२ का ५० बर्षीय पुरुषको आज मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । माघ १० गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएका उनी ११ गते कोभिड वार्डमा भर्ना भएका थिए । उनले कोभिड विरुद्धको कुनै पनि खोप नलगाएको जनाइएको छ ।
यस्तै, बाँकेमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँका तीनवटा प्रयोगशालाको ७० नमुना परीक्षणमा २५ जनामा भाइरस संक्रमण पुष्टि भएको फोकलपर्सन वलीले बताउनुभयो । भेरी अस्पतालमा ११, कोहलपुर मेडिकल कलेजमा ७ र बागेश्वरी ल्यावमा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका १३ जना रहेका छन् । आज ६० जना डिस्चार्ज भएका छन् ।











