रुसी सैनिकले युक्रेनमा दुर्घटनाबस आफ्नै युद्धक विमान खसालेका छन्।
बेलायतको साइबर–गुप्तचर एजेन्सी (जिसिएचक्यू) का अनुसार तत्कालका लागि आफ्नो निर्देशन पालना नगरेपछि रुसी सैनिकले विमान खसालेका हुन्। यसले रुसी सैनिकभित्र आदेश पालना नगर्ने क्रम देखिएको दाबी गरिएको छ।
अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा बिहीबार सम्बोधन गर्दै सर जेरेमी फ्लेमिङले ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको वास्तविक अवस्थाबारे गम्भीर गलत मूल्यांकन गरेको’ बताएका छन्।
जिसिएचक्यूको वेबसाइटमा उनको सम्बोधनको लिखित पाठ पोस्ट गरिएको छ। त्यसमा उनले भनेका छन्, ‘रुसी सैनिक हतियार तथा मनोबलको अभावमा रहेको हामीले देखिरहेका छौँ। उनीहरुले निर्देशन पालना गर्न मानेका छैनन्, आफ्नै उपकरणहरु खसालेका छन्, दुर्घटनाबस आफ्नै लडाकु विमानमा पनि आक्रमण गरेका छन्।’
यस्तै रुसले साइबर आक्रमणमार्फत युक्रेनलाई विचलित पार्ने प्रयास गरिरहेको पनि जिसिएचक्यूले दाबी गरेको छ।
यसैबीच रुसी ह्याकरहरुले पश्चिमा देशको सैन्य गठबन्धन नेटोमाथि साइबर आक्रमणको प्रयास गरेको गुगलले जनाएको छ। नेटोको नेटवर्क तथा पूर्वी युरोपियन देशका रक्षा मन्त्रालयमा ह्याक गर्ने प्रयास रुसी ह्याकरले गरेको गुगलको थ्रेट एनालिसिज ग्रुपले जनाएको हो।
नयाँ बनाइएको जिमेल एकाउन्टमार्फत त्यस्तो आक्रमणको प्रयास भइरहेको गुगलले जनाएको छ। रुसले भने पश्चिमा देशलाई लक्षित गरी बढ्दै गएका साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।











