खजुरा ३ मा को-को आकांक्षी, कस्को कति सम्भावना ?

नेपालगन्ज : सरकारले स्थानीय तह चुनावको जोडतोडले तयारी गरिरहेको छ । यस्तोमा बाँकेका स्थानीय तहमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता ब्यक्तिगत तथा पार्टीगत रुपमा उमेदवार घोषणा गर्दै चुनावी अभियानमा होमिन सुरु गरिसकेका छन् ।

बाँकेको चर्चामा रहेको खजुरा गाउँपालिकामा समेत चुनावी अभियान सुरु भैसकेको छ । पार्टीगत तथा ब्यक्तिगत रुपमा चुनावलाई नै मध्यनजर गर्दै टिकटको लबिङ र चुनावी प्रचारमा राजनैतिक पार्टी र ब्यक्तिहरु होमिसकेका छन् ।

खजुरा गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मा प्रमुख पार्टीहरुको अध्यक्ष पदमा केहि अनुहारको चर्चा सुरु भैसकेको छ ।

मनकामना, खजुरा बजार, बि गाउँ, क गाउँ , तल्लो र माथिल्लो धौलागिरी मिलेर बनेको वडा नम्बर ३ खजुरा गाउँपालिकाको लागि महत्त्वपुर्ण वडाको रुपमा हेरिदै आएको छ ।

हालसम्म नेकपा एकीकृत समाजबादीको उमेदवारको रुपमा युवा ब्यवसायी तथा ब्यवसायिक बाख्रा पालक किसानको समेत परिचय बोकेका बिकास काउचाको चर्चा रहेको छ । खजुरा गाउँपालिकामा नेकपा एकीकृत समाजबादीको पहिलो उमेदवारको रुपमा वडा नम्बर तिनबाट बिकास काउचा रहेको नेकपा एसका नेता ऋषि पोखरेलले बताएका छन् ।

खजुरा बजार, मनकामना र क गाउँका युवा माझ निकै लोकप्रिय काउचाको बि गाउँ, क गाउँ, तल्लो र माथिल्लो धौलागिरीमा निकै राम्रो पकड रहेको मानिन्छ । त्यस क्षेत्रमा उनको ब्यक्तिगत तथा समुदायिक भोटमा राम्रो पकड रहेको बताइदै आएको छ ।

सत्ता साझेदार दलहरु बिच गठबन्धन भएर चुनाव लड्ने अवस्थामा समेत नेकपा एसको पहिलो रोजाइको वडा नम्बर ३ र त्यसमा बिकास काउचानै पहिलो रोजाई हुने नेकपा एसका नेता पोखरेलले बताए । जस अर्थमा गठबन्धन बनेर चुनावमा गएमा गठबन्धनको उमेदवार बिकास काउचा हुने लगभग पक्का रहेको नेकपा एसका नेता पोखरेलले बताए ।

केही पार्टीले आधिकारिक रुपमा नै स्थानीय चुनाव केन्द्रित अभियान सुरु गरिसकेका छन् । त्यस्तोमा नेकपा एमालेबाट सतिस निरौला र पुर्ण बहादुर भण्डारीको वडा अध्यक्षमा दाबी रहेको स्रोतले बताउदै आएका छन् । एमालेका दुबै नेता आफ्ना सम्पर्क र लाइनमा टिकटको लागि लबिङ सुरु गरेको बताइन्छ ।

एमालेबाट खजुरा ३ मा सतिस निरौलालाई अध्यक्षमा टिकटको लागी खजुरा खानेपानीको चुनाव अगाडी नै सहमती भैसकेको एकथरी बताउदै आएका छन् । भने खजुरा एमालेका पुराना नेता समेत रहेका पुर्ण बहादुर भण्डारी गत चुनावमा हारको बदला लिन आतुर रहेको बताइन्छ । भण्डारी पनि वडा नम्बर तिनको अध्यक्षको टिकटको लागि कसरत गरेको बुझिन्छ, भण्डारी वडा नम्बर ३ को खजुरा बजारको भोटमा राम्रो पकड राख्ने ब्यक्ति मानिन्छन् ।

उता नेकपा माओवादी केन्द्रबाट खजुरा वडा नम्बर ३ मा सम्भावित दुई जना उमेदवार देखा परेका छन् । पहिलो चुनावमा वडा नम्बर ३ का अध्यक्षमा जित हासिल गरेका कान्तुराम गौतम र टंक प्रसाद पोखरेलको नाम बजारमा आएको छ तर खजुरा गाउँपालिकामा नेकपा माओवादीले पालिका अध्यक्षमा दावी गरिरहदा रोजाईको वडा नपाउने र नेकपा एसले पहिलो रोजाइमा वडा नम्बर ३ लाई राखेको चर्चा चले संगै माओवादी र नेपाली कांग्रेसबाट ३ नम्बर वडामा कसैले बलियो दाबेदारी गरेका छैनन् ।

यदि सत्ता साझेदार दलहरु गठबन्धनमा चुनाब नलड्ने अवस्थामा खजुरा वडा नम्बर ३ मा कान्तुराम गौतम वा टंक प्रसाद पोखरेल सम्भावित उमेदवार हुनेछन् । तर अध्यक्ष भैसकेका कान्तुराम गौतमको कार्यशैलीको कारण उनलाई पार्टीले पुनः टिकट दिने सम्भावना भने कम छ ।

उता नेकपा माओवादीले आज मात्रै निर्णय गर्दै सक्भर पुराना जनप्रतिनिधिलाई टिकट नदिने निर्णय गरिसकेको छ ।

नेकपा माओवादीले जस्तै खजुरा गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका कसैले पनि आफ्नो बलियो दाबेदारी पेश गरेका छैनन् । खजुरा गाउँपालिकामा नेकपा माओवादीले पालिका अध्यक्षमा दावी गरिरहदा, नेपाली कांग्रेसले उपाध्यक्ष दाबी गर्ने चर्चा चलेको छ त्यसकारण पनि रोजाईको वडा नपाउने र नेकपा एसले पहिलो रोजाइमा वडा नम्बर ३ लाई राखेको चर्चा चले संगै माओवादी जस्तै नेपाली कांग्रेसबाट ३ नम्बर वडामा कसैले बलियो दाबेदारी गरेका छैनन् ।

तर पनि खजुरा वडा नम्बर ३ मा कांग्रेसबाट नर बहादुर खड्काको नाम सुनिएको छ । गठबन्धन नभएको अवस्थामा कांग्रेसमा भने वडा अध्यक्षको दाबी गर्ने धेरै हुनसक्ने आकलन गरिए पनि चर्चामा खुलेर कसैले आफ्नो दाबी पेश गरेका छैनन् ।

प्रतिक्रिया