प्लाष्टिक मुक्त शहर होर्डिङ बोर्ड र नारामै सिमित

नेपालगन्ज :

प्लाष्टिक मुक्त शहर होर्डिङ बोर्ड र नारामै सिमित

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले छिट्टै नेपालगन्जलाई प्लाष्टिक मुक्त गर्ने बताएको करिब एक बर्ष पुग्नै लागेको छ ।

नेपालगन्जमा २०७६ नयाँ बर्ष संगै उत्पादन थालेको कागजको झोला बनाउने माझी प्रोडक्सन उद्योगको उद्घाटन गर्दै नगर प्रमुख डा. राणाले विकल्प दिएर नगरलाई प्लाष्टिक मुक्त बनाउने अभियानमा उपमहानगरपालिका रहेको बताएका थिए ।

राणाले प्लाष्टिक निषेध अघि त्यसको विकल्पका लागि उपमहानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरिरहेको समेत जानकारी दिएका थिए ।

मेयर राणाले बोलेको करिब एक बर्ष बित्नै लाग्दा राणाले बोल्नु अगाडि र अहिलेको अवस्थामा कुनै परिवर्तन आएको छैन ।
प्लास्टिक झोलाको विकल्पको रुपमा कागजको झोला उत्पादन गर्दै आएको माझी प्रोडक्सनका म्यानेजिङ डाइरेक्टर कुमार अधिकारीले सरकारी निकायबाट त्यस्तो कुनै पनि पहलकदमि नचालेको बताए ।

सरकारी तवर देखि नै प्लास्टिकका झोलालाई क्रमिक रुपमा निषेध गर्दै जानू पर्नेमा आफुहरुले त्यस्तो कुनै आभास गर्न नसकेको अधिकारीले बताए ।

उता नेपालगन्ज उपमहानगरपालिकाले भने नीति बनिसकेकोले कार्यान्वयनको चरणमा रहेको जानकारी दिएकाे छ ।

नेपालगन्ज उपमहानगरपालिका वातावरण इन्जिनियर प्रकाश डिसिका अनुसार उपमहानगरपालिकाले जनचेतनाको लागि पत्रकार महासंघसंग समन्वय गरेर फोटो प्रदर्शनी, डिजिटल बिसौनी तथा ट्राफिक बुथ लगायत कोहलपुरमा डिजिटल प्रबिधिको बिज्ञापन गरेको बताएका छन् ।

‘यो एकै चोटि न्यूनीकरण गर्नसकिने समस्या होईन , बिस्तारै जनचेतना जगाएर क्रमिक रुपमा प्लास्टिक जन्य झोलाको प्रयोगमा कमि ल्याउने हो जसको लागि उपमहानगरपालिकाले जनचेतनाको लागि काम गर्दै आएको छ भने विभिन्न संस्थाहरु संगको सहकार्यमा काम गर्दै छ ‘ ।

ठुला उद्योग र ब्यवसायिक प्रतिष्ठानसंग सहकार्य गर्ने योजनामा उपमहानगरपालिका रहेको समेत जिकिर गर्छन् वातावरणिय इन्जिनियर डिसि । साथै भाटभटेनी सुपरमार्केटसंग त्यस्तो किसिमको सहकार्य गर्ने योजना उपमहानगरपालिकाले बनाएकाे डिसि बन्दै बताउछन् ।

उनले उपमहानगरपालिकाले नीति बनाएर पहलकदम चाल्दै गरेको बताए पनि प्लास्टिक मुक्त शहरको नारा भने नारामै सिमित बनेको स्थानीयको गुनासो छ । मेयरले बोलेको एक बर्ष पुग्नै लाग्दा यसमा कुनै ठोस कदम पनि चालेको देखिएन । सुरुवातमा ब्यापारिक प्रतिष्ठान तथा प्लास्टिक झोलाको बैकल्पिक झोला उत्पादन गर्ने कम्पनीहरुलाई प्रोत्साहित गर्न र कागजका झोलामा बानी बसाल्न त्यस्तो कुनै अनुदानका कार्यक्रम समेत सुरु नगरेको स्विकार्छन वातावरणिय इन्जिनियर डिसि ।

उता नेपालगन्जमा उत्पादित कागजको झोला बिक्रीवितरणको जिम्मा लिएको अन्शु प्रोडक्सनका प्रोप्राइटर अन्जु गुरुङ भने स्थानिय सरकारले प्लास्टिकको झोला प्रयोगमा कडाई नगरे सम्म प्लास्टिक मुक्त शहरको नाराको कुनै औचित्य नहुने बताउछिन् ।

‘सरकारले प्लास्टिक झोला प्रयोगलाई निरुत्साहित गर्नुपर्छ, अनि मात्र कागजका झोला प्रयोगमा आउँछ, तर सरकारी तवरबाट त्यस्तो कुनै पनि प्रयास भएको जस्तो मलाई लाग्दैन ‘ उनले भनिन् ।



प्रतिक्रिया