न्युयोर्कको नयाँ पेन्सिल टावर किन चर्चामा छ ?

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा विश्वको सबैभन्दा पातलो गगनचुम्बी भवनको निर्माण सम्पन्न भएको छ ।

न्यूयोर्कको १११ वेस्ट ५७औँ स्ट्रिटमा अवस्थित स्टेनवे टावरको उचाइदेखि चौडाइको अनुपातले यसलाई विश्वको सबैभन्दा पातलो गगनचुम्बी भवन बनाएको यसको निर्माण कम्पनिले जनाएको छ ।

यो टावर न्यूयोर्कको वर्ल्ड ट्रेड टावर र सेन्ट्रल पार्क टावरपछिको तेर्सो अग्लो टावर रहेको छ । यो १४२८ फिट अग्लो छ भने न्यूयोर्क शहरमा रहेका अन्य दुई टावर वर्ल्ड ट्रेड सेन्टरको १७७६ फिट र सेन्ट्रल पार्क टावर १५५० फिट रहेको छ ।

यस टावरमा ८४ तला रहेका छन् भने जसमा ६० अपार्टमेन्ट पनि बनाइएको छ ।

यो टावर न्यूयोर्क आर्किटेक्चर फर्म शोप (SHoP) आर्किटेक्ट्स द्वारा डिजाइन गरिएको थियो र जेडीएस डेभलपमेन्ट, पर्पर्टी मार्केट्स ग्रुप र स्प्रुस क्यापिटल पार्टनर्सले बनाएका हुन् । यसको निर्माण २०१३ देखि थालिएको सिएनएनले उल्लेख गरेको छ ।

अति पातलो गगनचुम्बी भवनहरू, जसलाई पेन्सिल टावरहरू पनि भनिन्छ, १९७० को दशकमा हङकङबाट बन्न शुरु भएको बताइन्छ । ति पेन्सिल टावरहरुलाई पछि न्यूयोर्क जस्ता ठूला शहरहरूले अनुसरण गरेको देखिन्छ ।

स्टेनवे टावर गगनचुम्बी भवन पेन्सिल टावरको एक शक्तिशाली प्रतिनिधि हो । 

यसका डिजाइनरहरुले उनीहरूको मुख्य लक्ष्य न्यूयोर्क स्काइलाइनको नयाँ र बोल्ड व्याख्यासहितको सिर्जना गर्नु रहेको बताएका छन् । साथै यस टावरले यसको स्थानको ऐतिहासिक जराको पनि प्रतिनिधित्व गरेको उनीहरुको दाबि छ । उनीहरुले भनेका छन्- ‘हाम्रो टोलीले न्युयोर्क शहरको विकासका गगनचुम्बी भवनहरूको बारेमा कुनै पनि पूर्वकल्पित धारणालाई प्रतिस्थापन गरेको छ, जुन पहिले कहिल्यै गरिएको थिएन ।’

१९२५ को एक ऐतिहासिक भवन, जुन पियानो निर्माता स्टेनवे र सन्सको पुरानो घर र कन्सर्ट हलको रूपमा चिनिन्छ, त्यसलाई पनि यस सुपर-अग्लो टावर स्टेनवे हलमा जोडिएको बताइएको छ । यो पहिलेको सांस्कृतिक हब अब विलासी घरहरूमा परिणत भएको छ ।

टावरको बाहिर एउटा सामग्री जुन विभिन्न बत्तीहरूमा र विभिन्न कोणबाट हेर्दा रङ र बनावट परिवर्तन भएको देखिने टेराकोटाका ब्लकहरू समावेश गरिएको छ ।

स्टिनवे टावरले अब नयाँ बासिन्दाहरूका लागि आफ्नो ढोका खोल्दै छ, तर भवनको सिल्हाउट पातलो हुँदा, मूल्य भने भवन अनुसार पातलो नभएको पाइएको छ । यस टावरको स्टुडियो अपार्टमेन्टको लागि ७.७५ मिलियन डलरदेखि पेन्टहाउसको लागि ६६ मिलियन डलर सम्म रहेको छ ।

प्रतिक्रिया