बाँकेमा ७७ जनाले उम्मेदवारी फिर्ता लिए, कुन स्थानीय तहमा कस्ले फिर्ता लिए ?

banke

नेपालगन्ज : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका बाँकेका ७७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा उपमेयर सहित १४ जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपालगन्जमा ६ जना वडाध्यक्ष, तीन जना महिला, दुई खुल्ला सदस्य र एक जना दलित सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
कोहलपुर नगरपालिकामा मेयर सहित १६ जनाले उम्मेदवारीले फिर्ता लिएका छन् ।

त्यहाँ पाँच जना वडा अध्यक्षले पनि उम्मेदवारी फिर्ता लिएका छन् । राप्तीसोनारी गाउँपालिकामा तीन वडा अध्यक्ष, आठ वडा सदस्य र एक महिला सदस्य सहित १२ जनाको उम्मेदवारी फिर्ता भएको छ ।

खजुरा गाउँपालिकामा दुई वडा अध्यक्ष र १० सदस्य सहित १२ जनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत बालकृष्ण चौधरीले जानकारी दिए ।

डुडुवा गाउँपालिकमा उपाध्यक्षका उम्मेदवार सहिजिदा बेगम र चार जना उपाध्यक्षका स्वतन्त्र गरि पाँच जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत फटिकराम मुडभरीले जानकारी दिए ।

जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एक–एक, चार वडा अध्यक्ष र एक सदस्य गरि सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जानकी गाउँपालिकामा एकीकृत समाजबादीको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका इन्द्रबहादुर थापा र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी सिर्जना धितालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बासुदेव शर्माले बताए ।

बैजनाथमा अध्यक्षका स्वतन्त्र उम्मेदवार नेत्रबहादुर बम, चार वडा अध्यक्ष र दुई जना गरि सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।

नरैनापुरका चार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए । त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका दुई जना वडा अध्यक्ष र दुई जना वडा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

बाँकेका आठ पालिकामा प्रमुख र उपप्रमुख तथा ८१ जना वडा अध्यक्षका लागि दुई हजार तीन सय २९ ले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लामा एक सय ३६ मतदानस्थल र तीन सय ७९ मतदान केन्द्र तोकिएको छ ।

ति मध्ये एक सय १२ अतिसंवेदनशील र २४ संवदेनशील मतदान स्थलको रुपमा चित्रण गरिएको छ । यहाँ राष्ट्रिय मान्यता प्राप्त ६ र साना २३ दल गरि २९ वटा दलले निर्वाचनमा सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया