रामु ओली /नेपालगन्ज :

नेपालगन्जको व्यापार तथा ब्यवसाय ओरालो लागीरहेको भन्ने गुनासो ब्यापारिक बर्गबाट आउदै गर्दा अदृश्य रुपले नेपालगन्जको ब्यापारको केही हिस्सा अन्लाईन सपिङ स्टोरहरुले ओगट्दै गएको छ ।
नेपालगन्ज मात्रै नभएर नेपालकै परिप्रेक्ष्यमा केही बर्ष यता अन्लाईन सपिङ स्टोरहरुबाट सामान खरिद गर्ने प्रचलन बढे संगै नेपालगन्ज पनि त्यसबाट अछुतो रहेन ।
नेपालगन्जमा चिनियाँ लगानी रहेको दराज लगायत मेरो सपिङ , सस्तो डिल , नेपहट र टिएसआर , मामा अन्लाईन सपिङ , अन्लाईन सपिङ र साझामार्ट जस्ता अन्लाईन स्टोरहरुबाट समानहरु आउने गर्दछ । जसमा ठूलो हिस्सा दराजको रहेको छ ।
दराजको सामान डेलिभरी गर्नको लागि नेपालगन्जबाट अराम्याक्स , टोटल लोजिस्टिक र अन्य अन्लाईन स्टोरका सामानहरु फास्ट मुभर कुरियर्स जस्ता पार्सल डिलिभरी कुरियर सर्भिसले सेवा दिदै आएको छ ।
त्यस्ता अन्लाईन स्टोरले क्यास अन डेलिभरीको सुविधा प्रदान गरे संगै नेपालगन्जबाट अन्लाईन सपिङ गर्ने ट्रेण्ड ह्वात्तै बढेको छ । दराजले मात्रै मासिक रुपमा नेपालगन्जबाट दुई करोड बढिको कारोबार गर्ने जानकारहरु बताउदछन । दराज लगायत अन्य अन्लाईन सपिङ स्टोरहरुले कतिको कारोबार गर्छन भनेर एकिन तथ्यांक नभएपनी डेलिभरी संख्या र सरदर मूल्य जोड्दा मासिक करिब ३ देखि ४ करोड बराबरको कारोबार नेपालगन्जबाट हुने अनुमान गर्न सकिन्छ ।
दराजको सामान डेलिभरी गर्ने अराम्याक्स र टोटल लोजिस्टिकले दैनिक सरदर ८० देखि १०० पार्सल आफु कहाँ आउने गरेको सम्बद्ध अधिकारी बताउछन् ।
आफु कहाँ आएको सामानको मूल्य एक सय रुपैयाँ देखि लिएर दुई लाख पचास हजार सम्मको रहने बताउछन् टोटल लजिस्टिक तथा अराम्याक्सका प्रतिनिधिहरु । त्यस्तै टोटल लजिस्टिकका प्रतिनिधिका अनुसार एक जना ब्यक्तिको दुई लाख पचास हजारको बिधुतिय उपकरण आफुले डेलिभरी गरेको सम्झन्छन् ।
मेरो सपिङ , सस्तो डिल , नेपहट र टिएसआर , मामा अन्लाईन सपिङ , अन्लाईन सपिङ र साझामार्ट जस्ता विभिन्न अन्लाईन सपिङ स्टोरहरुले नेपालगन्जको बजारमा ग्राहकलाई सामान बेचिरहेका छन् ।
चिनियाँ कम्पनी अलिबाबाले पाकिस्तानको अन्लाईन सपिङ एप दराजलाई खरिद गरेर नेपाल लगायत दक्षिण एसिया देशहरुमा अन्लाईन मार्केटलाई तिब्रगतिमा सुरु गरेपछी त्यसको असर नेपालमा पनि परेको हो । अन्लाईन सपिङ स्टोरबाट बिदेशी सामान तथा हरेक सामानहरु अन्लाईनबाट नै खरिद गर्न सकिने र सामान डेलिभरी भए पछि मात्रै भुक्तानी गर्न सकिने सुबिधाका कारण अहिले बिश्वमै अन्लाईन सपिङले मार्केटको ठूलो हिस्सा ओगड्दै गएको छ ।
नेपालमा केही महिना यता दराजले गलत सामान डेलिभरी गरेको भन्ने खबरले गर्दा डेलिभरि संख्यामा थोरै कमि आएको डेलिभरी सेवा प्रदान गर्ने कम्पनीका प्रतिनिधिले बताएका छन ।











