आयातमा खुकुलो नीति : खुल्न थाले एलसी

बैशाख २० । राष्ट्र बैंकको निर्देशनमा गत २१ चैतदेखि आयात रोकिएका वस्तुहरुको प्रतीतपत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैंकको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरुको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैंक तथा व्यापारीहरुले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैंकको मौखिक निर्देशनमा रोकिएको एलसी नियमित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बन्दपछि खोलिएको एलसीको सुन आउन भने अझै केहीदिन लाग्ने जनाइएको छ । सुन आयात हुने मुलुक दुबईमा इदको बिदाका कारण प्रशासनिक झन्झट देखिएको छ । सुन आयातका लागि राष्ट्र बैंकले जारी गरेको नगद मार्जिनको व्यवस्था भने यथावत नै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल इम्पोटर्स एसोसिएसनले पनि सरकारले तोकेको १० प्रकारबाहेकका अन्य वस्तुको आयातको एलसी खुलेको जनाएको छ । करिब ३ सय प्रकारका शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएका वस्तुको आयात एलसी खुलेको संघका वरिष्ठ उपाध्यक्ष एसबी ढकालले बताए ।

एक करेाडको सामान आयात गर्नेलाई २० देखि ३० लाखको मात्रै एलसी खोल्न भनिएको पनि उनले बताए । सरकारले राजपत्रमा सूचना निकालेर आयात रोकेकाबाहेक अन्य वस्तुको आयातमा एलसी खोल्ने क्रम सुरु भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

प्रतिक्रिया