रामु ओली : देशभर कुनै शब्द अत्याधिक चर्चामा छ भने त्यो शब्द बालेन हो । माओवादी, कांग्रेस र एमाले भन्दा कयौं बेसि सायद बालेन शब्द गुन्जिएको होला । सुर्य, रुख र गोलाकार भित्रको हसिया हथौड़ा भन्दा पनि बढी चर्चामा रहेको चुनाव चिन्ह लौरो नै हो ।
काठमाडौंमा बालेन, धरानमा राई, धनगढीमा हमाल जस्तै बाँकेमा पनि एक स्वतन्त्र निकै चर्चामा रहेका थिए । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा चुनावी मैदानमा होमिएका स्वतन्त्र उम्मेदवार बिकास काउचा मगर बाँके र खजुरामा बालेन भन्दा कम चर्चामा रहेनन् । उनले छानेको चुनाव चिन्ह खानेपानीको धारा खजुरामा राजनैतिक दलको चुनाव चिन्ह भन्दा बेसि चर्चामा रहेको थियो ।
बिना तयारी स्वतन्त्र उम्मेदवार बनेर गाउँ छिर्दा परम्परागत पार्टी भन्दा माथी सोच्न नसक्नेहरुले भोट काट्ने र २ सय मत लिन नसक्ने कुप्रचार गर्दै हिडेकाहरु मतदानको दिन नजिकिदै गर्दा नेपाली किम्दन्तीहरुमा भनिए झै दातबाट पसिना आउछ भने उनिहरुको दातबाट पसिनाको भेल नै बगेको थियो भन्दा अतिशयुक्ती नहोला ।
नाम बिकास, काम बिकास नै गर्छु भनेर हिडेको एउटा युवा, राजनैतिक दलले नपत्याएको एउटा केटो मात्रै थियो । केटोले केटोहरु बोक्छ, ति केटोहरुको परिवारलाई सम्झाउन सक्छ, समाजलाई जोड्न सक्छ अनि सिङ्गै खजुरालाई लिएर चुनावी र्याली गर्छ, नत यो कुरा राजनैतिक दलका ठेकेदारले सोचेका थिए नत त्यो खजुराले नै ।
कसैको लागी मात्रै देखिएको त्यो केटोले चुनाव हार्यो, गठबन्धनलाई पछाडी छोड्यो, एमाले उम्मेदवारले जित हासिल गरे, तर उसले हारेको मत भन्दा बदर भएको मत धेरै निस्कियो । उ यहि नीर चुक्यो । उ मात्रै होइनन् खजुरा ३ यहि नीर चुके । खजुरा ३ लाई युवाको काधमा छोड्ने म जस्ता शुभचिन्तक यहि नीर चुकेकै हौं । तर बजारमा उसको हारले जित्यो । उसको हारको चर्चाले जित्यो । खजुरा ३ कस्ले जित्यो भन्दा पनि कसले हार्यो त्यस पछिको टिकाटिप्पणीले जितेको त्यो साझ बास्तवमै बिकासले जितेको थियो ।
देशभर कयौं स्वतन्त्र उम्मेदवारले जितेका छन्, केही वडा त केही पालिका नै जितेका छन् । महानगर र उपमहानगरपालिका जित्ने दाउमा छन् । काठमाडौंमा बालेन छन् त धनगढीमा हमाल छन् ।
बिकासलाई खजुरामा देख्ने, उसले गर्ने बिकास र सेवाभावले हाम्रो युवापुस्ताको लागी मार्ग बन्ने थियो कि भन्ने धेरैको आशा समेत गुमेको छ केही बर्षलाई । तर उ भन्दै थियो म खजुरामै जन्मे हुर्केको, खेलेको कुदेको ठाउँ मैले जिते पनि हारे पनि, हिजो पनि आज र भोलि पनि खजुराको राम्रोको लागी म सधै खजुरामै छु । यत्ती शब्द मेरो लागी लाख थियो । आजभोलि त करोड भन्छन् त्यो शब्द मेरो लागि करोडौं थियो ।
खजुराले खजुराको माटोमा हुर्केको- बढेको, खजुरालाई प्रेम अनि खजुराको भलो चिताउने मात्रै होईन, खजुरालाई खजुरा बनाउने बिकास पाएको छ । यो मानेमा खजुरा भाग्यमानी छ । लामै खडेरी पछि खजुराले खजुराको नेता पाएको छ । जसको छनक अस्ति भर्खरै सकिएको चुनावले देखाएको छ त्यसैले त खजुराको अबको भबिष्य बिकासमा देखिएको छ, जुन राजनैतिक स्वार्थ र राजनैतिक दल भन्दा माथी छ ।
हामी गाली गर्छौ नेतालाई, जनप्रतिनिधिलाई त्यही सिस्टममा युवा पुगोस् युवाले केही गरोस अनि त्यही नजिर देखाउदै युवापुस्ता राजनिती र समाजसेवामा प्रवेश गरोस मेरो ब्यक्तिगत यहि स्वार्थ थियो ।
चुनाव सकिए पछि घातको कुरा, मत किनवेचको कुरा, सहयोग-असहयोगको कुरा र कतिमतले हार्यो वा जित्यो भन्ने कुरा मेरो लागि खास अर्थ राख्दैनन् । तर त्यो चुनावले के शिक्षा दियो ? कस्तो माहोल तयार गर्यो ? म युवा भएकाले युवापुस्तामा कस्ले कस्तो छाप छोड्यो त्यसले भने पक्कै अर्थ राख्छ । त्यो अर्थमा स्वतन्त्र उम्मेदवार बिकास काउचा मगर खजुरामा मात्रै होईन मेरो जिल्लामा खास छ । खास रहन्छ । अब केही बर्ष खजुराको राजनीति उसैको वरिपरि घुम्छ यो मेरो शब्द मात्रै होईन, मैले देखेको खजुराको भबिष्य हो ।