काठमाडौं :

अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौता हुँदै छ । शान्ति सम्झौता कतारको राजधानी दोहामा हुने छ ।
एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएको थियो । २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति भएको थियो ।
सोही सहमतिअनुसार शनिबार दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुन लागेको हो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष चार महिना लामो युद्ध अन्त्य हुनेछ ।
अमेरिकाले अफगानिस्तान सरकारलाई सघाउँदै तालिवान लडाकुविरुद्ध आक्रमण गर्दै आएको थियो । पछि अमेरिकाले नै शान्ति सम्झौताको पहल गरेको थियो । सन् २०१८ को सेप्टेम्बरमा अमेरिकी विदेशमन्त्री पाइक पोम्पेओले कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विशेष दूत नियुक्त गरेका थिए । खलिलजादकै पहलको प्रतिफल हो यो अमेरिका–तालिवान शान्ति सम्झौता ।










