पश्चिम तराईका जिल्लामा सिकलसेल र थालेसिमियाका बिरामी बढ्दै

नेपालगन्ज, ६ असार । बाँके लगायत पश्चिम तराईका जिल्लामा सिकलसेल र थालेसिमिया जनस्वास्थ्य समस्याका रुपमा देखिएको छ । यसका बिरामीको पहिचान गर्न जिल्ला स्वास्थ्य कार्यालय बाँकेले पछिल्लो समयमा स्वास्थ्य जाँच गर्न थालेपछि यो समस्या देखिन थालेको हो । बाँकेका राप्तीसोनारी, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेल धेरै पाइएपछि स्वास्थ्य जाँच सुरु गरिएको हो ।

यी तीन पालिकामध्ये राप्तीसोनारी गाउँपालिकामा धेरै संख्या रहेको पाइएको छ । हालसम्म ४ सय जनाको स्वास्थ्य जाँच गर्दा ६३ जनामा सिकलसेल समस्या देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो । यो नसर्ने रोग भएपनि वंशाणुगत रुपमा सर्ने रोग हो ।

यो समस्यालाई समाधान गर्न रगत जाँच गरेर मात्रै जन्म कुण्डली मिलाई विवाह गर्न गुरु, पादरी तथा पण्डितहरुलाई पनि जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने आबश्य रहेको सिकलसेल विज्ञ डा. राजन पाण्डेको बताउनुहुन्छ । उहाँले कक्षा ९ र १० मा अध्ययनरत बालबालीकालाई सिकलसेलका बारेमा जानकारी दिने र उनिहरुको स्वास्थ्य जाँच गर्ने काम भइरहेको बताउनुभयो ।

हाल पश्चिम नेपालका बाँके, बर्दिया कैलाली लगायत जिल्लाका करिब ९ सय जनाले भेरी अस्पतालबाट सिकलसेलको उपचार सेवा लिइरहेका छन् । यो समस्या सबै समुदायमा देखिने भएपनि बढी थारु समुदायमा देखिएकाले यसबारे सचेत रजक रहन उहाँको सुझाव छ । सरकारले सिकलसेलका विरामीलाई एक लाख बराबरको उपचार सेवा दिने गरेको छ ।

प्रतिक्रिया