पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको बिरोधमा नेपालगन्जमा विद्यार्थीको प्रदर्शन

नेपालगन्ज : पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको बिरोधमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजबादी निकट बिद्यार्थी संगठन अनेरास्ववियूले नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ ।

साझेदार दल नेकपा एकीकृत समाजबादी निकट बिद्यार्थी संगठन अनेरास्ववियू बाँकेले मंगलबार नेपालगन्जको धम्बोझी चोकमा पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुमा गरिएको मूल्य वृद्धिको बिरोधमा प्रदर्शन गरेको हो ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू बाँकेका अध्यक्ष इन्द्र बस्नेतले सरकारले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिनु पर्ने र अन्य अत्यावश्यक उपभोग्य बस्तुमा भएको अस्वभाविक मुल्यलाई नियन्त्रण गर्नु पर्ने माग राखेका थिए ।

बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै जनतालाई सेक्ने गरि गरिएको मूल्य वृद्धि तत्काल फिर्ता नलिए अनेरास्ववियू बाँकेले आन्दोलन चर्काउने बताएका थिए ।

बिरोध कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य तुलबिर बिक, अनेरास्ववियू जिल्ला कमिटी सदस्य नवीन न्यौपाने, बिकाश भन्डारी, अनेरास्ववियू क्याम्पस कमिटि अध्यक्ष टेकेन्द्र रावल, महेन्द्र बहुमुखी क्याम्पसका सचीव केशर जंग शाही, नगर कमिटी अध्यक्ष उज्ज्वल गिरि लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया