१५ साउन भित्र ई–रिक्सा सूचीकृत गर्ने नेपालगन्जको निर्णय

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका ई–रिक्सालाई ब्यवस्थित गर्ने भएको छ ।

यहाँ संचालनमा रहेका ई–रिक्सा ब्यवस्थित नभएका कारण दुर्घटना बढ्दै गएपछि ब्यवस्थित बनाउन विशेष अभियान थालेको मेयर प्रशान्त विष्टले बताए ।


उनले १५ साउन भित्र ई–सूचीकृत गरिने बताए । ई–रिक्सा ब्यवस्थापन गर्न आयोजित सरोकारवालासँग छलफलमा आगामी १५ साउनभित्र सबै ई–रिक्सा सूचीकृत गर्ने निर्णय गरिएको उनले बताए ।

नगरमा सञ्चालित ई–रिक्साहरुको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई ब्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुटको ब्यवस्था गर्ने लगायतका निर्णय भएको उनको भनाई छ । ‘नागरिकले दुःख नपाउने गरी ई–रिक्साहरुको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्छ ।

नेपालगन्ज उपमहानगरपालिका एक्लैले गर्न सम्भव छैन । यसमा सबै सरोकारवालाको भूमिका आवश्यक छ,’ उनले भने ।
उनले जनताले दुःख नपाउने गरी ट्राफिक ब्यवस्थापनमा कठोर बन्नुपर्ने जरुरी भइसकेको बताए । विष्टले ट्राफिक ब्यवस्थापनका विषयमा गम्भीररुपमा छलफल सुरु भएको बताउँदै समिति मार्फत विस्तृत अध्ययन गरिने धारणा राखे ।

‘विभिन्न विकल्पहरुमा छलफल गरी समाधानका उपाय निकालिने छ,’ उनले भने ।उपप्रमुख कमरुद्दिन राईले ई–रिक्सा ब्यवस्थापन नगरको मुख्य टाउको दुःखाईको विषय भएको भन्दै उचित ब्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको औँल्याए ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले ई–रिक्सा नगरको ठूलो समस्याको रुपमा रहेको औँल्याउँदै निश्चित पार्किङ क्षेत्र तोक्नु पर्ने योजना सुनाए । उनले ब्यस्त ठाउँमा निश्चित समयका लागि चार पाङ्ग्र्रे र तीन पाङ्ग्र्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्न प्रस्ताब गरे ।


छलफलमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जिवी वली, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक रिपेन्द्रकुमार सिंह, नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी, ठेला एवम् ई–रिक्सा सम्बद्ध विभिन्न युनियनका प्रमुख एवम् प्रतिनिधि, नेपालगन्ज उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादुर थापा लगायतले छलफलमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया