मौसमी श्रमिक भिसामा आएर भागेका नेपालीहरु दक्षिण कोरियामा धमाधम पक्राऊ पर्दै

कोरियन सरकारले अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक भाग्न थालेको उजुरी बढेपछि उनीहरुलाई पक्राउ गरी स्वदेश पठाउने अभियान नै चलाएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए । कोरियामा नयाँ सरकार फेरिएसँगै मन्त्रालयले भिसाबिना बसिरहेका विदेशीलाई पक्राउ गर्न सुरु गरेको र पछिल्लो महिना त्यसलाई थप तीव्र पारेको हो ।


सोही अभियान अन्तर्गत, खोहुङगुन क्षेत्रमा कार्यरत १४ नेपाली मौसमी कामदार हराएको भन्ने रोजगारदाताको उजुरीका आधारमा उनीहरुलाई पक्राऊ गरिएको सञ्चार माध्यमले जनाएका छन् । उनीहरु गतवर्ष डिसेम्बर महिनामा नेपालको कन्काई नगरपालिकाबाट मौसमी कामदार भिसा कार्यक्रममार्फत कोरिया प्रवेश गरेका थिए । पाँच महिनाका लागि रोजगारदातासँग श्रम सम्झौता भए पनि सम्झौताको चौँथो महिना मार्चमा भागेका बताइएको छ । कार्यरत कम्पनीमा बिना सूचना भागेपछि कम्पनीले उनिहरुका साथीहरुमार्फत खोजी गर्दा नेपालबाट कोरिया आउँदा भाग्ने पूर्व योजना नै रहेको हुन सक्ने बताए ।


साथै सम्झौता गरेको रोजगारदाताकहाँबाट भागेका मौसमी कामदारलाई सहयोग गरेको सीसीटिभी फुटेजमा देखिएका अन्य नेपालीलाई पनि प्रहरीले सोधपुछ गरिरहेको राईले बताए । यता नेपाली दूतावास सिओलले भने के कति नेपालीलाई यहाँको सरकारले पक्राऊ गरी स्वदेश फिर्ता गर्यो भन्ने सूचना नआएको जनाएको छ । कोरियामा पक्राऊ परेको व्यक्तिको अनुमतिविना व्यक्तिगत जानकारी दिन नमिल्ने भएकाले कुनै पनि अभियोगमा पक्राऊ परेका नेपालीका विषयमा दूतावासमा जानकारी नआउने उपनियोग प्रमुख रामसिंह थापाको भनाइ रहेको छ ।


गत महिना कोरियाको न्याय मन्त्रालयले नेपाल सरकारलाई ३ हजारको संख्यामा मौसमी कामदार पठाउन औपचारिक आग्रह गरेपनि नेपालले त्यो प्रस्तावलाई अस्वीकार गरेको दूतावासको भनाइ छ । नेपाल सरकारको प्राथमिकता ईपिएस प्रणाली नै भएकाले मौसमी कामदार पठाउन नमिल्ने जवाफ नेपालले पठाएकाले मौसमी कामदारका विषयमा दूतावासले केही गर्न नमिल्ने बताइएको छ । जुन महिनाको अन्त्य सम्ममा २ सय ४५ पुरुष र ३५ जना महिलागरी २ सय ८० जना नेपाली श्रमिक मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेको यहाँको अध्यागमन कार्यालयको तथ्याङ्क रहेको छ । साभारः अनलाइन खबर

प्रतिक्रिया