नेपालगन्जमा खोलियो लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ मा निर्माण हुन लागेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय नेपालगन्जमा खोलिएको छ ।

आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालगन्जमा रहेको वन डिभिजन कार्यालय पछाडि निर्माण गरिएको नयाँ भवनमा विश्वविद्यालयको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय देशकै नमुना विश्वविद्यालय बन्न सक्ने बताए । उनले भने, ‘तपाईको समर्थन र सहयोगले हामीले कल्पना गरेको विश्वविद्यालय नेपालको मात्र नभएर संसारकै नमुना विश्वविद्यालय बनाउन सक्छौं ।’

प्रदेशको समुन्नत विकासको लागि यस क्षेत्रमा विश्वविद्यालयको आवश्यकतालाई मध्यनजर गरेर र खजुरा विश्वविद्यालयलाई आवश्यक पर्ने ९० विघा जग्गा उपलब्ध गराउन सक्षम भएको जनाएपछि खजुरामा प्राविधिक विश्वविद्यालयको प्रक्रिया अघि बढेको केसीले बताए । गण्डकी प्रदेशपछि विश्वविद्यालय बनाउनेमा हामी दोस्रो भएको बताए ।

उनले विश्वविद्यालयको योजना अघि बढाउन डेड वर्ष अन्य देशहरुमा रहेका विश्वविद्यालयको अध्ययन गरेको बताए । ‘हामीले देशको ठूलो जनशक्ति विदेश पलाएन भएको देखेर अन्य अमेरिका, बेलायत, युके, चीन, भारतलगायतका देशहरुमा भएका विश्वविद्यालयको डेड वर्ष अध्ययन गरेपछि विश्वविद्यालयको शैक्षिक माग तयार पारिएको छ,’ मुख्यमन्त्री केसीले बताए ।

उनले देशमा नेतृत्व गर्ने प्राविधिक जनशक्ति उत्पादन गर्न लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरिएको बताए । उनले उक्त प्राविधिक विद्यालयबाट उत्पादन भएका जनशक्तिले नेपालकै लागि काम गर्ने बताए । उनले लुम्बिनी प्रदेश प्राविधिक विश्वविद्यालयले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई समेटने र समग्र प्रदेशका विद्यार्थीको आकर्षणको केन्द्रविन्दु हुन सक्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा लुम्बिनी प्रदेशकाशिक्षा तथा खेलकुद मन्त्री कसीउद्दीन खाँले लुम्बिनी सरकारको पूर्ण स्वामित्व हुनेगरी संघीय सरकारबाट स्वीकृत भई खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना गरिएको बताए । उनले प्राविधिक, वैज्ञानिक र व्यवसायी जनशक्ति उत्पादन गर्ने लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाअनुसार खजुरामा प्राविधिक विश्वविद्यालय निर्माण गर्न लागिएको बताए ।

मन्त्री खाँले प्राविधिक विश्वविद्यालयको छनौटको आधार यहाँको भूगोल, प्राकृतिक आधार, नागरिकको जिवनस्तर, विकासको अवस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता रहेको बताए ।

बाँके तथा बर्दियाका समग्र व्यक्तिहरुले गरेको संघर्षको प्रतिफलका रुपमा लुम्बिनी प्राविधिक विश्वविद्यालय रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिनेशप्रसाद ढकालले बताए । उनले दक्ष जनशक्ति उत्पादन गर्नको लागि उक्त विश्वविद्यालय स्थापना गरिएको भएर विश्वविद्यालयको नाम लुम्बिनी प्राविधिक विश्वविद्यालय राखिएको बताए ।

उपकुलपति प्रा.डा ढकालका अनुसार प्राविधिक विश्वविद्यालयमा पाँचवटा विद्यामा अध्यापन गराइने छ । उनले भने, ‘यो विश्वविद्यालयमा दक्ष जनशक्ति उत्पादन हुने भएकाले पाँचवटा विद्यामा आफ्ना कार्यक्रमहरु संचालन गर्ने छ । ती हुन् कृषि, सूचना तथा प्रविधि, पर्यटनलगायतको रहेको छ ।’

लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद सचिव कृष्णप्रसाद पन्तले नेपालको संविधानको अनुसुचि ६ मा प्रदेश विश्वविद्यालयको प्रावधान अनुसार खजुरमा प्राविधिक विश्वविद्यालय स्थापना गरिएको बताए । उनले नेपालमा पहिलोेपटक प्राविधिक विश्वविद्यालयको स्थापना भएको बताए ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’ ले दक्ष जनशक्ति उत्पादन गर्नका लागि खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना सुरु भएको बताए । ‘यस विश्वविद्यालयले समाजको नेतृत्व गर्ने सभ्य र दक्ष मानव जन्माउने छ,’ विकले भने ।


त्यस्तै कार्यक्रममा खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति बाँकेले आफ्नो सपना पूरा गरेको बताए । उनले खजुरामा विश्वविद्यालय स्थापना गर्नका लागि बाँके र बर्दियामा जनताले ठूलो योगदान गरेको बताए ।
साथै लुम्बिनी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको विश्वविद्यालय निर्माण कार्य अगाडि बढाउनको लागि प्रदेश सरकारले सुरुआतमा १२ करोड ३६ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । खजुरासँगै पश्चिम नेपालको भविष्यसँग जोडिएको विश्वविद्यालयले दक्ष जनशंक्ति उत्पादन गर्दै देश विकासमा सहयोग गर्ने अध्यक्ष विकले बताए । खजुरा गाउँपालिकाको वडा नम्बर ८ मा बन्ने प्राविधिक विश्वविद्यालयका लागि पालिकाले ९० विगाह जमिन उपलब्ध गराइसकेको छ ।
प्रदेश सरकारले २०७६ माघ ३ गते खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर त्यसपछि विश्वविद्यालय स्थापनाको लागि आवश्यक पर्ने प्रक्रिया सुरु हुन ढिलाई भैरहेको थियो ।


आर्थिक वर्ष २०७९–८० मा छुट्याएको बजेटबाट ६ करोड १५ लाख ५३ हजार प्रशासनिक र ६ करोड २१ लाख २० हजार रुपैयाँ पुँजीगत रुपमा खर्च गरिनेछ । बुटवलमा भदौ ८ गते सम्पन्न भएको विश्वविद्यालयको प्रथम् सभाले विभिन्न महत्वपूर्ण निर्णयसमेत गरेको थियो । मुख्यमन्त्रीको नेतृत्वमा बसेको बैठकमा चालू आर्थिक वर्षमा तयार गरिएको बजेट स्वीकृत, विश्वविद्यालयको कोष स्थापना, अस्थायी कर्मचारी दरबन्दी र पदाधिकारीको सेवा सुविधाका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया