डलरमा खर्च गर्दै बाँकेका उम्मेदवार

रामु ओली, नेपालगन्ज : मंसिर ४ अर्थात प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको दिन, बाँकेमा मात्रै नभएर देशभर नै चुनावी अभियान सुरु भैसकेको छ ।

यही अभियान संगै उम्मेदवारले वा उम्मेदवारको समर्थनमा समर्थकले चुनावी अभियानमा डलरमा खर्च गर्न सुरु गरेका छन् ।

फेसबुकका वालमा देखिने उम्मेदवारका अधिकाश चुनाव प्रचार सामाग्री स्पोन्सर्ड हुन्, वा साधारण भाषामा भन्दा फेसबुकलाई पैसा तिरेर गरिएको प्रचार हो । फेसबुकमा गरिएको त्यस्तो पोष्टमा सानो अक्षरमा अंग्रेज़ीमा स्पोन्सर लेखिएको हुन्छ ।

बाँकेमा चुनावी अभियानमा डलरमा खर्च गर्ने उम्मेदवारमा कोहि भन्दा कोहि कम देखिएनन् ।

बाँके क्षेत्र नम्बर दुईका लागी जसपाका उम्मेदवार मोहम्मद इस्तियाक राईको लगातार फेसबुकमा पोष्ट बुस्ट गरेर प्रचारप्रसार गरिरहेका छन् । उनको फेसबुकमा गरिएको प्रचारप्रसारको खर्च (विकास पुरुष इश्तियाक राईलाई फेरि जिताओ नेपालगन्जको मान बढाओ) नामक फेसबुक एकाउन्टबाट डलर तिरिएको वा तिरिने फेसबुकले जनाएको छ ।

त्यस्तै बाँके क्षेत्र नम्बर दुईका स्वतन्त्र पार्टी नेपालका उम्मेदवार बिनोद अग्रहरी समेत डलर खर्च गरेर फेसबुक मार्फत चुनाव प्रचारप्रसार गरेका छन ।

अग्रहरीको डलर तिरिएको पोष्ट समाचारको लिंक भएको हुँदा डलर तिर्ने आइडीको जानकारी फेसबुकले दिएको छैन । (चुनावी प्रचारप्रसार हो भन्ने फेसबुकलाई लागेमा उसले एड अकाउन्टको विवरण माग्ने र सोको बारेमा जानकारी गराउने गर्दछ)

डलर खर्च गरेर चुनावी प्रचार गर्नेमा बाँके क्षेत्र नम्बर ३ का एमालेका उम्मेदवार किस्मत कुमार कक्षपति समेत रहेका छन् ।

एमाले बाँकेका अध्यक्ष समेत रहेका कक्षपतिको डलर प्रचारको खर्च तिर्ने विवरणमा वसन्त बस्नेतको विवरण दिइएको छ ।

त्यस्तै उता क्षेत्र नम्बर एकका एमालेका उम्मेदवार सुर्य प्रसाद ढकालले समेत फेसबुकमा डलर खर्च गरेरै चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

उनले तिहारको शुभकामना सहित भिडियो म्यासेजलाई स्पोन्सर्ड गरेका छन् ।

बाँकेमा प्रमुख दलका उम्मेदवार मात्रै होइनन् अन्य सानापार्टी र स्वतन्त्र उम्मेदवारले समेत डलर खर्च गरेर चुनावी अभियान संचालन गरेका छन । र मतदानको मिति नजिकिदै जादा डलर खर्च गरेर चुनाव प्रचार गर्ने उम्मेदवारको संख्या बढ्ने पक्का छ ।

गएको स्थानीय तहको निर्वाचन देखी प्रचारप्रसारको फरक स्वरुप (डिजिटल क्याम्पेनिङ) लाई दल तथा उम्मेदवारले प्राथमिकताका साथ अंगालेको पाइएको छ ।

बाँके जिल्लामा मात्रै होईन, समग्र देशमा नै डिजिटल प्रचारको लहर व्यापक बढेको छ ।

बाँके जस्ता सुगम जिल्लाको जनसंख्याको ठूलो हिस्सा फेसबुकमा रहेको र दिनमा सयौं पटकसम्म  (सरदर ४-५ घण्टा) फेसबुकमा रहने र फेसबुक मार्फत निश्चित क्षेत्र, भुगोल, मान्छेको रुचि, लिंग, उमेर लगायतलाई तार्गेट गरेर फेसबुकमा प्रचार गर्न सम्भव रहेको हुनाले पनि सहि ठाउँमा उम्मेदवारको प्रचार सामाग्री पुग्ने हुँदा दल तथा उम्मेदवारले डलर नै खर्च गरेर भए पनि प्रचार गर्ने गरेका छन् ।

कसरी लिने डलर ?
एक बर्ष अगाडीसम्म नेपालबाट डलरमा बिदेश कारोबार गर्न सम्भव थिएन । निश्चित ठुला ब्यापारिले ब्यापारिक प्रायोजन र भिजिट भिसामा जानेहरुका लागी भिसा प्राप्त गरिसके पछि मात्रै ट्राभल कार्ड दिने ब्यवस्था रहेपनी पछिल्लो समयमा राष्ट्र बैंकले एक आर्थिक बर्षमा एक ब्यक्तिले ५ सय डलरसम्मको खर्च गर्न पाउने लिमिट सहित नेपालका कुनै पनि बैंकबाट डलर कार्ड लिने र खर्च गर्ने सुबिधा प्रदान गरेको छ । जसमार्फत फेसबुकमा गरिने प्रचारको समेत रकम तिर्न सकिन्छ ।

त्यस अगाडी भने पेपल लगायत अन्य तेस्रो पेमेन्ट मेथोड प्रयोग गरेर बिदेशबाट नै डलर मगाएर नेपालबाट गरिने त्यस्ता कारोबारको रकम तिर्ने गरिदै आएको थियो ।

चुनाव लागे संगै मतदाताको घरदैलोमा पुग्ने, मतदातालाई लोभ्याउने र प्रतिस्पर्धीलाई कमजोर पार्ने रणनीतिमा उम्मेदवार र उम्मेदवारका निर्वाचन परिचालन कमिटीको अभिन्न अंग बनेको डिजिटल प्रचार प्रसारले उम्मेदवारलाई के कति फाइदा पुग्छ त्यो आफ्नै ठाउँमा होला तर त्यसले भने नेपालको डलर भण्डार धेरथोर मात्रामा कमजोर बन्ने पक्कै छ । 

लगातार रुपमा डलरको मूल्य आकासीयको अवस्थामा चुनावी प्रचार अभियानमा समेत डलरको प्रयोग गरेर देशको पैसा बिदेश पठाउने हो भने त्यसले देशलाई पक्कै फाइदा गर्दैन ।

प्रतिक्रिया