बाँकेको अगैंयामा खुल्यो हिमालय बैंकको काउन्टर

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैंयामा हिमालय बैंक लिमिटेडको विस्तारित काउन्टर खुलेको छ । राप्ती सोनारीको शमशेरगंजमा रहेको हिमालयप बैंकको शाखाको काउन्टर शुक्रबार खुलेको हो ।

हिमालय बैंकका लुम्बिनी प्रदेश प्रमुख अनुसया बस्नेतको उपस्थितिमा पालिकाका अध्यक्ष तप्त पौडेलले सो काउन्टरको उद्घाटन गरेका हुन् । कार्यक्रममा पालिका अध्यक्ष पौडेलले वडा नम्बर ६ र ७ का स्थानीयका लागि पनि हिमालय बैंकले केही विकल्प खोज्नुपर्ने बताउँदै सो क्षेत्र पनि काउन्टर विस्तारका लागि अनुरोध गरे ।


‘हिमालय बैंकले पालिकाको वडा नम्बर ६ र ७ का जनतालाई पनि सेवा प्रदान गर्नका लागि सो क्षेत्रमा काउन्टर विस्तार गर्न मैले अनुरोध गरे,’ उनले भने, ‘यसमा पालिकाले गर्नुपर्ने जे सहयोग हुन्छ, त्यो सहयोग गर्न हामी पूर्णरुपले तत्पर छौं ।’


कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख बस्नेतले राप्ती सोनारी गाउँपालिकामा सहजरुपले सामाजिक सुरक्षा भत्ता वितरण गर्न र राजस्व संकलन गर्ने उद्देश्यले अगैयामा हिमालय बैंकको काउन्टर खोलिएको बताइन् । हिमालय बैंकको शमशेरगंजमा रहेको शाखाबाट पालिकाको वडा नम्बर २, ८ र ९ का स्थानीयले मात्र सहजरुपमा सेवा लिन सकेका थिए भने अन्य वडाका स्थानीयका लागि अगैयामा नयाँ काउन्टर खोलिएको उनले बताइन् । वडा नम्बर ६ र ७ का स्थानीयका लागि पनि काउन्टर विस्तार गर्नका लागि पालिकाले सहयोग गरे आफूहरुले त्यसको पहल थाल्ने बस्नेतको भनाइ थियो ।


अब अगैंया काउन्टरले सामाजिक भत्ता र राजस्वमात्र नभएर सो क्षेत्रका जनताको लागि बचत र अन्य सुविधा पनि प्रदान गर्ने हिमालय बैंकका कर्मचारी केशव खत्रीले जनाकारी दिए ।
त्यसैगरी अगैया काउन्टर उद्घाटन समारोहमा हिमालय बैंकले विद्यार्थीलाई विभिन्न किसिमका शैक्षिक सामग्री वितरण गरेको छ । अगैंयामा रहेको नेपाल राष्ट्रिय माविका कक्षा ११ र १२ मा अध्ययनरत सबै ६५ जना विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री बैंकले वितरण गरेको हो ।


बैंकका कर्मचारी खत्रीका अनुसार बैंकले १ सय टि–सट, ३ सय ५० थान कपी र ५०० पिस कलम वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत सो शैक्षिक सामग्री वितरण गरेको हो ।

प्रतिक्रिया