कोहलपुरका १२ वटा विद्यालयमा एसईई नमुना परिक्षा सुरु

बाँके । बाँकेको कोहलपुर नगरपालिका भित्रका १२ वटा सामुदायिक विद्यालयहरूमा आइतबारदेखि एसइइ नमूना परीक्षा (SEE Mock Test) सञ्चालन भएको छ । सो परीक्षा माघ २३ गतेसम्म सञ्चालन हुने भएको छ ।

विद्यार्थीहरुमा परीक्षाप्रतिको डर हटाइ आत्मविश्वास बढाउने, एसइइ परीक्षाको लागि अभ्यस्त बनाउने, परीक्षाको नतिजा विष्लेशण गरि आगामी एसइइमा राम्रो अंकसहित उतीर्ण गर्न उपचारात्मक कक्षामा सहभागी गराइ सहयोग गर्ने मुख्य उद्देश्यले एसइइ नमूना परीक्षा सञ्चालन गरिएको हो ।

रुम टु रिड र कोहलपुर नगरपालिका शिक्षा शाखाको समन्वय तथा सहकार्यमा एसइइ नमुना परीक्षा सञ्चालन गरिएको हो ।सो परीक्षामा १ हजार ५ सय ९४ जना विद्यार्थी सहभागी छन् । जसमध्ये छात्रा ८ सय २४ जना र छात्र ७ सय ७० जना रहेका छन् ।

एसइइ नमूना परीक्षामा श्री ज्ञानज्योति मावि बगिया, श्री नेपाल राष्ट्रिय मावि निवुवा (खड्गवार), श्री सरस्वती मावि पिपरी, श्री ज्ञानज्योति मावि चप्परगौडी, श्री त्रिभुवन नमूना मावि कोहलपुर, श्री सिद्धार्थ मावि, श्री जनज्ञानज्योति मावि कौशिलानगर, श्री सगरमाथा ज्ञानपुन्ज मावि, श्री कृष्ण मावि कौशिलानगर, श्री जनता मावि मैटहवा, श्री लक्ष्मी उच्च मावि बर्दहवा र श्री राम मावि हवलदारपुरका विद्यार्थीहरु सहभागी रहेको रुम टु रिड बाँकेका वरिष्ठ फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवंरले जानकारी दिनुभयो ।

रुम टु रिडको पहलमा विगतका बर्षहरुमा पनि खजुरा, बैजनाथ, राप्तीसोनारी र कोहलपुरमा एसइइ नमूना परीक्षा सञ्चालन गरिएको थियो । यस बर्षको एसइइ नमूना परीक्षा तेस्रो हो । एसइइ नमूना परीक्षाले विद्यार्थीहरुको आत्मविश्वास बढ्नुका साथै सहजै प्रश्न बुझ्ने र उत्तर लेख्ने शैलीको विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया