धारा नेपालगन्ज म्याराथनको क्रिकेटमा सहकार्य

नेपालगन्ज : दौड संस्कृतिलाई बढावा दिने उद्देश्यले धारा नेपालगन्ज म्याराथनले बर्षभरि विभिन्न गतिविधि गर्ने कार्यअन्तर्गत नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगितामा सहभागि टिमसँग सहकार्य गरेको छ ।

मंगोलियन स्पोर्ट्स क्लबलाई जर्सी सेट प्रदान गरेर खेल संस्कृति बढाउने अभियानमा सहकार्य गरेको हो । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, धारा नेपालगन्ज म्याराथनका सिओओ सौगातविक्रम शाह, हेल्दी क्याफे हस्पिटलका एमडी कमिल हलवाई र टिम कप्तान यस हमालले जर्सी सार्वजनिक गरे । अब टिमले धारा मंगोलियन स्पोर्ट्स क्लबका नामबाट मेयर कप खेल्नेछ ।

‘दौड हरेक खेलका लागि अनिवार्य शर्त हुनेगर्छ । दौडमा राम्रो हुनेले सबै खेलमा राम्रो गर्नसक्छ ।’ सिओओ सौगातविक्रम शाहले भने –‘तसर्थ हरेक खेललाई दौडसँग जोड्दैछौं ।’

आठौं धारा नेपालगन्ज म्याराथन गत मंसिर २५ गते सम्पन्न भएको थियो । नेपालगन्ज म्याराथन नेपालबाट विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को पहिलो सदस्य हो ।

नेपालमा पहिलोपटक धावकहरुलले इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रयोग गरेर दौडिएका थिए । राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ४ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो साता नेपालगन्ज म्याराथन हुनेगर्दछ ।

प्रतिक्रिया