
नेपालगन्ज : फोहोर व्यवस्थापनको समस्या सबैका लागि चुनौति बन्दै गएको विषय हो । यस समस्यालाई केही हदसम्म सम्बोधन गर्न नेपालगन्जमा रहेको आदर्श माविले आफ्ना विद्यार्थीलाई फोहोर व्यवस्थापन सिकाउने प्रयास गर्दै आएको छ ।
वार्षिकरुपमा आदर्शले हरेक महिना विद्यार्थीहरुलाई फोहोर व्यवस्थानका लागि समय छुट्याउँदै आइरहेको छ । उक्त समयमा आदर्शले विद्यालय तथा नेपालगन्ज सहरका विभिन्न स्थानमा विद्यार्थीलाई सरसफाइका लागि सहभागिता गराउने गरेको छ ।

सोही सन्दर्भमा आदर्शले बिहीबार पनि विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई सरसफाइ एवम् फोहोर व्यवस्थापन सिकाउन नेपालगन्जका चोक तथा सडकमा पुर्याएको छ । ‘हामीले हाम्रो समाजमा रहेको फोहोर व्यवस्थापनका लागि विद्यार्थीलाई एउटा अभिमुखिकरण दिन खोजेका हौं ।
यसरी समय–सयम सरसफाइका कार्यक्रम ल्याउँदा समाजले पनि केही कुरा सिक्छ,’ आर्दका शिक्षक महोश्वर जोशीले बताए । यस किसिमको कार्यक्रमले समाज र विद्यार्थीमा फोहोर वर्गिकरणको चेतना जनाउने जोशीले बताए ।
बिहीबार आदर्शका करिब १ सय ५० जना विद्यार्थीले नेपालगन्जमा रहेको महेन्द्र पार्कदेखि रानी तलाउ हुँदै त्रिभुवन चोकसम्म सरसफाइ कार्यक्रम गरेको छन् । उनीहरुले सरसफाइका क्रममा फोहोरको प्रकृति हेरेर अलग–अलग व्यवस्थापनसमेत गरे ।
यस्ता किसिमको फोहोर व्यवस्थापन कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रभाव देखिने गरेको शिक्षक जोशीले बताए । ‘सरसफाइ कार्यक्रममा सहभागी विद्यार्थीहरुले यही कुरालाई आ–आफ्नो समुदायमा केही हदसम्म लागू गरे भने पनि केही न केही असर त पुग्न जान्छ,’ उनले बताए ।
जोशी समुदायलाई सफा राख्न हरेक विद्यालयले आफ्ना विद्यार्थीलाई फोहोर व्यवस्थापन तथा सरसफाइको अभिमुखिकरण दिनुपर्ने सुझाउँछन् ।