
नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा आज भएको स्ववियु चुनावबाट अखिल क्रान्तिकारीको संयुक्त प्यानलको उम्मेदवार दिपीका सोनी निर्वाचित भएकी छिन् ।
संयुक्त प्यानलमा नेविसंघ (नेपाली कांग्रेस निकट), अखिल क्रान्तिकारी (माओवादी केन्द्र निकट) र अनेरास्ववियु (नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको थियोे उनले अनेरास्ववियु (नेकपा एमाले) निकटका तर्फबाट अध्यक्ष पदमा निलिमा गिरीलाई ३ मतले विजयी हासिल गरेकी छिन् ।

अध्यक्ष पदमा दिपीका सोनीले ८१ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी निलीमा गिरीले ७८ मत प्राप्त गरेकी छिन् । अध्यक्ष पदमा २ मत बदर भएको निर्वाचन कमिटीले बताएको छ ।
उक्त नर्सिङ क्याम्पसमा १ सय ६१ जति मत खसेको थियोे । यसपटक तिनवटा संघ/ संगठनले गठबन्धन गरेका थिए ।
संयुक्त प्यानलको टीमबाट दिपिका सोनी अध्यक्ष पदमा र कोषाध्यक्षमा संयुक्त प्यानलकी रेलुसा खत्री निर्वाचित भएकी छिन् ।
त्यसैगरी सचिव पदमा अनेरास्ववियुकी देवार्चना अधिकारी निर्वाचित भएकी छिन् । सदस्य पदमा संयुक्त प्यानलकी रश्मी अधिकारी १ जना र अनेरास्ववियुबाट इशा पौडेल र बिनिता बेल्वासे २ जना निर्वाचित भएका छन् ।
समानुपातिक मतमा भने अनेरास्ववियुलाई १०१ र संयुक्त प्यानलाई ६० मत प्राप्त भएको छ ।
