बढ्न थाल्यो कोरोना : नेपालगन्ज नाकाबाट नेपाल प्रवेश गर्ने ७ जनामा कोरोना पुष्टि

नेपालगन्ज : भारतको विभिन्न राज्यमा पुनः कोरोना संक्रमण देखिन थाले संगै नेपालगन्ज सिमानाकाबाट नेपाल आउनेमा कोरोना संक्रमण देखिन थालेको छ ।

पछिल्लो २४ घण्टामा नेपालगन्जको जमुनहा सिमानकाबाट नेपाल प्रवेश गर्ने सात जनामा कोरोना पुष्टि भएको हो ।

भारतको दिल्लीबाट फर्किदै गरेका चार पुरुष र तीन महिला गरि शुक्रवार सात जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

एन्टिजेन विधिमार्फत एक सय ६१ जनाको कोरोना जाँच गर्दा दैलेख आठविसकोट गाउँपालिका १ का सात जनामा पुष्टि भएको उनले बताए । पुष्टि भएका संक्रमितलाई होम आइसोलेसनमा बस्ने गरि सम्बन्धित गाउँपालिकामा पठाइएको उनले बताए । ‘सम्बन्धित गाउँपालिकासँग समन्वय गरि संक्रमितलाई घर पठाइएको छ,’ उनले भने ।

भारतमा कोरोना संक्रमण बढेपछि जमुनाह नाकामा कडाई गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले भारतबाट फर्किने नेपालीलाई सोधपुछ गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको बताए । ‘शंकास्पद ब्यक्तिको कोरोना जाँच गर्ने र अन्यलाई सोधपुछ गरेरमात्र पठाउने गरिएको छ,’ उनले भने ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक दामु पुनले भारतबाट फर्किने नेपालीलाई एन्टिजेन परीक्षण गरेको कागजात हेरेरमात्र प्रवेश गर्न दिएको बताए । उनले भारतमा कोरोना संक्रमण देखिएपछि नाकामा कडाई गरिएको बताए ।

प्रतिक्रिया