एमलाइफ नेपालगन्जले जित्यो केपीएल क्रिकेट उपाधि

नेपालगन्ज : एमलाइफ क्रिकेट क्लबले खैरी प्रिमियम लिग २०२३ (केपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको मैदानमा भएको फाइनलमा रनियापुर स्पोर्ट्स क्लबलाई ५२ रनले पराजित गर्दै एमलाइफले च्याम्पियन ट्रफी उचालेको हो ।

टस जितेर ब्याटिङ रोजेको एमलाइफले निर्धारित २० ओभरको खेलमा १७२ रन जोड्न सफल भयो । त्यसक्रममा रनियापुरले ६ विकेट लिएको थियो ।

१७३ रनको विजयी लक्ष्य लिएको रनियापुर १३० रनमै सिमित भएको थियो । एमलाईफका लागि सर्वाधिक ५७ रनको योगदान गरेका रविन्दर म्यान अफ द सिरिज घोषित भए । एमलाइफले विजयी ट्रफी सहित नगद ५० हजार पुरस्कार प्राप्त गर्न सफल भयो ।

उपविजेता रनियापुरले नगद २० हजारमा चित्त बुझायो । ब्ल्याक बक क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगितामा भारतीय दुई टिम सहित बाँके र बर्दियाका गरी १२ टिमले भाग लिएका थिए ।
एमलाइफले मनोज यादवको कप्तानीमा टिम मैदानमा उतारेको थियो ।

एमलाइफले डेब्यु प्रतियोगितामा उपाधि जित्दा निकै उत्साहित बनेका एमलाईफका सिइओ राजकुमार चन्दले आगामी दिनमा समेत निरन्तर प्रतियोगितामा टिम समावेश गराइने बताए ।

प्रतिक्रिया