खजुरामा सुरु भयो अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी, पालिका अध्यक्षले गरे उद्घाटन

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी उद्घाटन गरिएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ४ मा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरीको संचालनमा ल्याएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रम गरि पौडी पोखरी संचालनमा ल्याएको हो । पौडी पोखरी खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक ‘तुफान’ र उपाध्यक्ष मन्जु मल्लले संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

उद्यानका संचालक टेक श्रेष्ठका अनुसार ‘स्वास्थ्य र सुरक्षकोलागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ उक्त पोखरी संचालनमा ल्याइएको हो । ‘यो पौडी पोखरी मनोरञ्जन गर्नका लागिमात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो,’ संचालक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार उक्त पोखरीको लम्बाई २५ मिटर र चौडाई १२.५ मिटरको रहेको छ । जहाँ एकैपटक ६ जना खेलाडीले पौडिन सक्नेछन् । करिब २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको पोखरीको गहिराई ३.५ फिटदेखि ७ फिटसम्म रहेको छ भने बालबालिकाका लागि छुट्टै १.५ फिट गहिराईको पोखरी निर्माण गरिएको छ ।

उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश प्रशिक्षक चन्दरराम चौधरीले नयाँ व्यक्ति तथा बालबालिकालाई प्रशिक्षण दिनेछन् ।

त्यस्तै पौडी पोखरीलाई आकर्षण गर्नका लागि वरिपरी विभिन्न स्थानका चित्रकला समेत पेन्टिंग गरिएको छ । भने सुरक्षालाई मध्यनगर गर्दै लकरको पनि व्यवस्था गरिएको छ ।

श्रेष्ठका अनुसार एक हप्तापछि उक्त पौडी पोखरी संचालनमा आउने छ । पौडी पोखरीमा विद्यार्थी तथा बालबालिकाका लागि ३ सय र अन्य व्यक्तिका लागि ३ सय ५० रुपैयाँ शुल्क राखिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया