युएईलाई हराउँदै नेपाल एसिया कपमा छनौट, भारत र पाकिस्तानसँग खेल्न पाउने

गुलशन झाको आक्रामक ब्याटिङको मद्दतले नेपालले एसीसी प्रिमिअर कपको फाइनलमा प्रतिद्वन्द्वी यूएईलाई सात विकेटले पराजित गरेको छ।

कीर्तिपुर क्रिकेट मैदानमा यूएईले छोडेको ११८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ जना खेलाडी गुमाउँदै पूरा गरेको हो।

यो उपाधिसँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपको लागि छानिएको छ। सँगै नेपालले डेढ महिनाको बीचमा यूएईलाई महत्त्वपूर्ण खेलमा पराजित गरेको हो।

गुलशन शो

नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको थियो। त्यो ठूलो लक्ष्य थिएन।

तर वर्षाका कारण खेल डीएलएस मा पनि जानसक्ने भएकोले नेपालले रन र विकेटको हिसाब गरेर सुझबुझ तरिकाले खेल्नुपर्थ्यो।

जति धेरै विकेट गुम्यो, नेपालको लक्ष्य त्यति नै बढ्ने हुन्थ्यो। यस्तो बेला नेपालले सुरुवातमा नै लगातार ३ विकेट गुमाएपछि टोली अचानक दबाबमा परेको थियो।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा रोहन मुस्तफाबाट एलबीडब्लूको सिकार भए। ८ बल खेलेका उनले १ रन मात्र जोड्न सके।

सातौँ ओभरको पहिलो बलमा अर्का ओपनर आसिफ शेख पनि एलबीडब्लूकै धरापमा परे।

यूएईका रोहन मुस्तफाले त्यसबीच शेखसँग विवादमा अल्झिन पुगेका थिए। उनको यो रणनीति सफल भएजस्तो देखिएको थियो। शेखले १० बल खेलेर १ चौकासहित ८ रन मात्र जोड्न सके।

त्यसपछि कप्तान रोहित पौडेल पनि आउट भएपछि नेपाल समस्यामा परेको थियो। १ रन मात्र बनाएका पौडेललाई मुस्तफाले नै बोल्ड गरे। यति बेला ८ ओभरमा नेपालले २२ रन मात्र बनाएर खेलिरहेको थियो। त्यसपछि खेल सम्हाल्ने जिम्मा गुलशन झा ले लिए।

स्कोरबोर्डमा छरितो रन जोड्न आवश्यक भएकोले प्रशिक्षक मोन्टी देशाईले भुर्तेल आउट भएपछि नै झा लाई मैदानमा पठाएका थिए। जबकि अन्य बेला भीम सार्की आउने गर्थे।

झा र रोहित आउट भएपछि आएका भीम सार्की मिलेर नेपाली इनिङलाई धैर्यपूर्ण तरिकाले अगाडि बढाए।

दबाबमा धेरै ‘डट बल’ गइरहेको बेला बायाँ हाते आक्रामक झा ले निरन्तर जसो ४ छक्का ३ चौका प्रहार गरेर टोलीको दबाब घटाउने काम गरेका थिए।

झा ले आक्रामक रणनीति अपनाउँदा अर्को इन्डमा सार्कीले विकेट बचाएर खेले।उनले नेपालका लागि अर्धशत जोडे।

स्मरणीय कुरा के छ भने विश्वकप लिग-२ को अन्तिम खेलमा पनि झा ले नै एउटा ओभरमा आक्रामक खेलेर २० रन जोडेपछि डीएलएसमा यूएई पराजित हुन पुगेको थियो।

राजवंशीको चार विकेट

एसीसी प्रिमिअर कपको मङ्गलवार सुरु भएको फाइनलको दोस्रो दिनको खेलमा यूएई ११७ रनमा अल आउट भएको छ।

ललित नारायण राजवंशीले ३३.१ ओभरमा जुनेद सिद्दिकीको विकेट लिएपछि यूएई अलआउट भएको हो।

मङ्गलवार पनि वर्षा हुने पूर्वानुमान रहेकोले नेपाली बलरहरूले छिटो भन्दा छिटो यूएईको अन्तिम विकेट लिने प्रयास गरेका थिए।

त्यसका लागि कप्तान रोहित पौडेलले स्पिनरद्धय राजवंशी र सन्दीप लामिछानेलाई मात्र प्रयोग गरेका थिए।

तर अन्तिम विकेट लिन ४ ओभरको समय लाग्यो। लामिछानेले २ ओभर बलिङ गरे।

अन्ततः राजवंशीले ३४ ओभरको पहिलो बलमा सिद्धिकी (१० रन)लाई कुशल भुर्तेलबाट क्याच आउट गराए।

यसबीचमा यूएईले ११ रन थप्यो भने सिद्धिकीले १ छक्का प्रहार गर्न भ्याएका थिए।

किन सारिएको थियो खेल ?

पछिल्लो समय २८ ओभरको खेल चलिरहेको बेला पुन: वर्षा भएपछि खेल रोकिएको थियो।

वर्षाका कारण हिजोको खेल रोकिएको त्यो दोस्रो पटक थियो।

कीर्तिपुर मैदानको आउट फिल्ड पूर्ण रुपमा ढाकिएको थियो।

वर्षा एकदम दर्केर नआएको भइ सिम सिम मात्र परेको कारण पुन: खेल सञ्चालन गर्ने आशामा प्राविधिक टोली पानी रोकिने प्रतिक्षामा थिए।

दिउँसो ३ बजेपछि पानी पर्न कम हुने मौसम पुर्वानुमान भएकोले पनि नेपालले दोस्रो इनिङमा कम्तिमा २० ओभरको खेल सञ्चालन गर्न सकिने अनुमान गरिएको थियो।

तर साढे ३ बजेसम्म पनि पानी नरोकिएपछि म्याच रेफ्रीले खेल नहुने निर्णय गर्यो।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार पानी रोकि हालेमा पनि आउटफिल्डबाट पानी हटाउन र पिच तयार गर्न एक घण्टा भन्दा वढी समय लाग्ने थियो र त्यसपछि २० ओभरसम्म खेल खेलाउन समय अपूग हुन्थ्यो।

प्रतिक्रिया