नेपालले भारत र पाकिस्तानसँग क्रिकेट खेल्न पाउँदा यस्ता छन् हुने फाइदा…

सत्ताइस वर्षअघि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको थियो। यसबीचमा नेपालले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्न सफल भएको छ।

सन् २०१४ मा नेपालले २० ओभरको विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्‍यो। त्यसको चार वर्षपछि सन् २०१८ मा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) राष्ट्रको मान्यता पायो।

अहिले आएर नेपाली क्रिकेटले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ- एसीसी प्रिमिअर कपको च्याम्पिअन बनेर।

मङ्गलवार उक्त प्रतिस्पर्धाको विजेता बनेसँगै नेपाल ‘एसिया कप’का लागि छानिएको छ। त्यसको अर्थ हो- अब नेपालले भारत र पाकिस्तान जस्ता ठूला टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।

यो नेपाली क्रिकेट खेलाडी र खेलप्रेमीले लामो समयदेखि देखेको ‘सपना’ पनि हो, जुन अब साकार हुने चरणमा छ।

विश्व क्रिकेटको असोसिएट सदस्यको हैसियतले असोसिएट क्रिकेटमा राम्रो छवि बनाउँदै आएको नेपालको अब टेस्ट राष्ट्रसँग आमनेसामने हुनेछ।

नेपाल उक्लेको खुड्किलो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले ९६ वटा देशलाई असोसिएट राष्ट्रको मान्यता दिएको छ। त्यसमा नेपालको प्रदर्शन अग्रपङ्तिमा आउने गर्छ।

असोसिएट राष्ट्र र पूर्ण सदस्य राष्ट्र (टेस्ट) बीच भेट हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नगन्य छन्। एसिया कप त्यस्तै मध्येको एक हो।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन नेपाली क्रिकेटको यो सफलतालाई ‘आत्मविश्वासको अर्को एउटा खुड्किलो’ भन्छन्।

सन् २०१४ मा २० ओभरको विश्वकपका लागि नेपाल छनोट भएपछि त्यसबेला खेलाडीमा बेग्लै आत्मविश्वासको विकास हुन पुगेको थियो।

त्यसबेला नेपालले अफगानिस्तान र हङ्‌कङ्‌लाई पराजित गरेको थियो भने आयोजक बाङ्ग्लादेशसँग कडा प्रतिस्पर्धा भएको थियो।

गौचन भन्छन्, “त्यो आत्मविश्वासले गजबले काम गरेको थियो। त्यही आत्मविश्वासले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने बाटोमा बढ्न मद्दत पुग्यो।”

यस बीचमा नेपाली क्रिकेटले धेरैखाले आरोहअवरोहको सामना गर्‍यो। नेपाल क्रिकेट सङ्घ आइसीसीबाट निलम्बनमा पर्‍यो।

खेलाडीले पनि विभिन्नखाले सङ्घर्ष गर्नुपर्‍यो। तर नेपाली टोलीले ‘ओडीआई’ को हैसियत पाउन सफल भयो।

शक्ति गौचन भन्छन्, “भारत र पाकिस्तानसँग खेल्दा नेपाली खेलाडीले अर्को आत्मविश्वासको ‘टनिक’ प्राप्त गर्ने पक्का छ। यसले नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्‍याउनेछ।”

एसिया कपमा छनोट हुने रोहित पौडेलको कप्तानीमा रहेको वर्तमान राष्ट्रिय टोलीमा नयाँ पुस्ताका खेलाडी धेरै छन्।

सन् २०१४ मा विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टोलीका दुईजना सदस्य मात्र अहिले नेपाली टोलीमा छन्।

त्यसताका राष्ट्रिय टोलीमा भर्खरै प्रवेश गरेका सोमपाल कामी अहिले टोलीका मुख्य खेलाडी बनेका छन् भने ज्ञानेन्द्र मल्लले वैकल्पिक खेलाडीका रूपमा पुराना र नयाँ पुस्ताबीच सेतुको भूमिका निभाइरहेका छन्।

थुप्रै खेलाडीले नेपालले टी-२० विश्वकप खेलेको देखेपछि नै क्रिकेटमा आफ्नो पाइला अघि बढाएका हुन्।

अब नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्‍याउने जिम्मा नयाँ पुस्ताको हातमा छ। र, उनीहरूले त्यसको छनक पनि दिइरहेका छन्।

कस्तो होला प्रतिस्पर्धा ?

विश्वका दुई ठूला क्रिकेट राष्ट्रसँग खेल्दा नेपालको प्रदर्शन कस्तो होला भन्नेमा अहिलेदेखि नै क्रिकेटप्रेमीमा जिज्ञासा उब्जेको छ। र, त्यो स्वाभाविक पनि हो।

प्रशिक्षक मोन्टी देसाईले सांकेतिक रूपमा त्यसको जवाफ पनि दिएका छन्। उनले भनेका छन्, “भारत र पाकिस्तानसँग खेल्दा म ड्रेसिङ रूममा बसेर त्यसको आनन्द लिन चाहन्छु।”

उनले सायद ‘नेपालले टेस्ट राष्ट्रसँग खेल्दा नतिजा हेर्ने होइन, आफ्नो क्षमता प्रदर्शन गर्ने हो’ भन्न खोजेका हुन सक्छ।

कतिपयका बुझाइमा अर्को पक्ष के हो भने नेपालका लागि अहिले टेस्ट राष्ट्रसँग खेल्नु नै त्यसको नतिजाभन्दा पनि ठूलो उपलब्धिपूर्ण कुरा हो। त्यो प्रतिस्पर्धाबाट नेपाली खेलाडीले पाउने ज्ञान पक्कै पनि अलग हुनेछ।

पूर्व खेलाडी गौचन स्मरण गर्दै भन्छन्, “आईपीएलको ट्रायलमा जाँदा मलाई लागेको थियो- विश्वस्तरका यी खेलाडीले मेरो हरेक बलमा छक्का हान्छन् होला। तर त्यस्तो नहुने रहेछ। राम्रो लाइन र लेन्थमा बल फाल्यो भने हरेक खेलाडीलाई खेल्न गाह्रै हुने रहेछ।” तर भारत र पाकिस्तानसँग खेल्नका लागि तयारी र योजना त्यसै अनसार हुनु भने जरुरी छ।

खेल होला कि नहोला?

यसैबीच भारत र पाकिस्तान बीचको मनमुटावका कारण एसिया कप नै हुन्छ कि हुँदैन भन्ने अन्योल उत्पन्न भएको भन्ने खबरहरू आइरहेका छन्।

पाकिस्तानमा हुने यो प्रतियोगिताका लागि भारत त्यहाँ नजाने पक्का छ। एसियाली क्रिकेट परिषद्ले त्यसको समाधानका लागि पहल गरिरहेको छ।

सन् २००२ मा नेपाल एसिया कपका लागि छानिए पनि भारत पाकिस्तानबीच तनाव बढ्दा प्रतियोगिता नै रद्द भएको थियो।

फेरि त्यस्तै हुने त होइन भन्ने आशङ्का अहिले पनि पैदा भएको देखिन्छ।

तर एसिया कप नहुने अवस्था आएमा पनि भारतले पाकिस्तानलाई छोडेर बाँकी पाँच राष्ट्रबीच एसिया कपको विकल्पमा अर्को प्रतियोगिताको आयोजना गर्ने बताएको छ।

त्यसमा पाँचौ राष्ट्र भनेको भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तानपछि नेपाल नै हो। – बिबिसी नेपाली

प्रतिक्रिया