नेपालगन्जमा क्याफे कल्चर

भनिन्छ नेपालगन्ज जंग बहादुर राणाको सपनाको शहर हो। राणाद्वारा लखनउको विभिन्न गन्ज नामाकरण भएका शहरबाट प्रभावीत भएर नेपालगन्ज नामाकरण गरिएको मध्य तथा सुदुर पश्चिम नेपालको ठूलो अनि प्रमुख नगर नेपालगन्ज बदलिँदो छ ।

जंग बहादुर राणाले नेपालगन्जलाई कस्तो देख्न वा बनाउन चाहन्थे त्यो अहिले कल्पना मात्रै गर्न सकिन्छ तर कल्पना भन्दा यथार्थ कालान्तरमा हुने बिकास वा परिवर्तनले समाजको चित्रको रंग, स्वभाव र ब्यवहार दर्साउने गर्छ ।

जंग बहादुर राणाले देखेको नेपालगन्ज र उनले देखेको सपनामा क्याफे कल्चर थियो या थिएन त्यो पक्कै कसैलाई थाहा थिएन । तर बदलिँदो नेपालगन्जले एउटा नयाँ कल्चर अंगालेको छ, जो क्याफे कल्चर हो ।

नेपालगन्जमा जमघट गर्ने थलोको रुपमा बिकास भएका कयौं क्याफेहरुले नेपालगन्जबासीको क्याफे कल्चरलाई बयान गर्दैछन् ।

प्रेम-प्रेमिकाको जमघट होस् या साथिभाईहरुको भेटघाट, केही मिटिङ होस् या सानो तिनो कार्यक्रम आजभोलि नेपालगन्जमा यस्तै क्याफेमा हुने गरेको छ ।

कसरी सुरुभयो नेपालमा क्याफे कल्चर ?

नेपालमा करिबकरिब ५० वर्षअगाडि आयातीत हिप्पी कल्चरसँगसँगै एउटा रैथाने कल्चरको पनि सुरुवात भएको मानिन्छ । काठमाडौंका गल्ली–गल्लीमा युवायुवतीको भेटघाट गर्ने थलोमात्र नभएर केही समय बिताउने क्याफे आज सामान्यझैं लाग्छन् । जो काठमाडौं मात्रै सिमित रहेन बिस्तारै देशका प्रमुख शहर हुँदै नेपालगन्जमा समेत क्याफे मानिसको दैनिकीमा प्रमुख बनिसकेको छ ।

आधा शताब्दी अगाडिको नेपालमै यस्तो परिकल्पना गर्नु आफैंमा एउटा क्रान्तिकारी चेत थियो । र, यो परिकल्पनाकार थियो एउटा २०–२१ वर्षे ठिटाको । जसले आयातीत हिप्पी कल्चरमा आफ्नै रैथाने कल्चर मिसाएर काठमाडौंबासीलाई क्याफे कल्चरको स्वाद दिलाउने ब्यक्ति हुन् स्व. श्यामसुन्दर कक्षपति ।

कक्षपतिले सन् १९७० मा नेपालमा हिप्पी कल्चर सुरु भएपछि सन् १९७३ मा रत्नपार्क, काठमाडौंमा क्याफे डे पार्क नामक रेस्टुरेन्टबाट नेपालमा क्याफे कल्चर सुरु गरेका थिए ।

युवा उमेरमा विदेश घुमेको ज्ञानलाई सदुपयोग गर्दै कक्षपतिले नेपाली खानाको परिकार र पश्चिमा संस्कृतिलाई संयोजन गर्दै क्याफे डे पार्क नामक रेस्टुरेन्टबाट पर्यटन उद्योगमा प्रवेश गरेका कयौं लेखहरु भेटिन्छन् ।

नेपालगन्जमा क्याफे कल्चर

२०७२ बैशाख २ गते नेपालगन्जमा बिन्स कफिको सुरुवात गरेको दाबी गर्ने मिस्टर बेकरका संचालक जय करण रोकायाले सो भन्दा अगाडी क्याफे कल्चरको सुरुवात नेपालगन्जमा भैसकेको भए पनि आफुले नै बिन्स कफि भित्राएको बताउछन् ।

नेपालगन्जको चिया पसलमा हुने ठुलै भिड अहिले क्याफेमा सरेको छ । युवापुस्तामा निकै लोकप्रिय क्याफे कल्चर अहिलेभने युवापुस्तामा मात्रै सिमित रहेन । अनेकौं प्रकारका कफिको स्वाद लिन अभ्यस्त नेपालगन्जबासीलाई बिन्स कफिको स्वाद दिन आफुलाई हम्मेहम्मे परेको रोकायाको अनुभव छ ।

‘पाउडर कफि वा प्याकिङ नेस्क्याफे खाएका ग्राहकलाई सुरुमा बिन्स कफि दिदा मूल्य र स्वादको समस्या थियो, त्यसैले पनि हामिले मूल्य सुरुमै कम गरेर दिन थाल्यौं तर सुरुसुरुमा कफि तितो भयो भनेर गाली खाने काम भने कम भएन’, रोकायाले बताए ।

समय क्रम जस्तै-जस्तै अगाडी बढ्दै गयो नेपालगन्जमा कफि पारखी र क्याफे बढ्दै गएको अनुभव रोकाय संग छ । युएईमा लामो समय बसेर क्याफे तथा बेकरीमा कामको अनुभव लिएका रोकाया नेपालगन्जमा नयाँ खुल्ने क्याफेका लागी मार्गदर्शक समेत हुन् ।

हाल नेपालगन्जमा लगातार क्याफे खुल्दै छन्, केही बन्द समेत भैसके केही आफुलाई परस्कृत गर्दैछन् । नेपालगन्जमा हालको दिनमा मिस्टर बेकर, फन कि, एस क्याफे, नेपालगन्ज क्युएफएक्स, नेपक्याफे, रेस्ट्रो कप, साइना क्याफे, मोम्स क्याफे, रोयाल क्याफे,निट क्याफे, ग्यालेक्सी होटेल लगायतका क्याफेहरुले कफि खुवाई रहेका छन् ।

मिस्टर बेकरका संचालक रोकायका अनुसार कफिका कयौं नाम र स्वाद हुने गर्छ तर नेपालगन्जमा चलेका क्याफेहरुले खुवाउने र नेपालगन्जमा चलेका कफिहरुमा सबैभन्दा बढी रुचाइएको नाम क्यापेचिनो हो । त्यसपछि अमेरिकानो, एस्प्रेसो, डोपियो, लाते, मोका, कोल्ड कफि, आइसक्रीम कफि हुन् ।

नेपालगन्जका क्याफे सप संगै थोरै स्वादमा र गुणस्तरमा भिन्नता जस्तै नेपालगन्जका क्याफेहरुमा कफिको मूल्य समेत फरक छ ।

नेपालगन्जका क्याफेहरुमा पाइने क्यापेचिनोको मुल्य ८० – १६५ रुपैयाँ, अमेरिकानो ८० – १५०, एस्प्रेसो १०० – २००, डोपियो २०० – ३००, लाते १०० – २००, मोका १०० – २५०, कोल्ड कफिका भेराइटीहरु १०० – ३०० सम्म पर्ने गर्छ ।

(यो आर्टिकल रामु ओलीले कर्पोरेट पश्चिमको असोज महिनाको अंकमा लेखेका छन्)

प्रतिक्रिया