खजुराले वैदेशिक रोजगारमा जाने ८ जनालाई दियो श्रम स्वीकृति

खजुरा :बाँकेको खजुरा गाउँपालिकाले वैदेशिक रोजगारिमा जानेको लागी श्रम स्वीकृत दिन सुरु गरेको छ ।

श्रम स्वीकृत दिने बाँकेकै पहिलो पालिकाका रूपमा खजुरा गाउँपालिकाले सोमबारदेखि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले गाउँपालिकाको रोजगार शाखाबाट श्रम स्वीकृति लिन सक्ने गाउँपालिकाले जनाएको छ ।

सेवा सुरु गरे संगै गाउँपालिकाका ८ युवाले श्रम स्वीकृति लिएका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ का प्रदिप बुढा क्षेत्री, वडा नम्बर २का दामोदर महतरा,वडा नम्बर ५ का राजेश गुरुङ, वडा नम्बर ३का खिम बहादुर वली,वडा नम्बर २ का टिकाराम सिंह ठकुरी ,बिजय गिरीलगाएतले श्रमस्वीकृति लिएका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार गाउँपालिकाकाे रोजगार शाखामा आवेदन गरी श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृत लिन सकिने बताए । ‘विगतमा श्रम स्वीकृत लिन काठमाडौं पुग्नुपर्ने बाध्यता थियो ।

तैपनि, समयमा काम नहुने, खर्च बढी हुनेलगायतका थुप्रै समस्याबीच वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता थियो,’ उनले भने ‘जब सरकारले श्रमस्वीकृत स्थानीय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो, त्यसैबेला देखि हाम्रो पालिकाले समेत काम अघि बढाएको हो ।’

स्थानीय सरकारबाटै श्रम स्वीकृति पाएपछी आफुहरुले ठूलो सुविधा पाएको श्रम स्वीकृति लिने सेवाग्राहीले बताए । ‘पहिला यो श्रम स्वीकृत लिन काठमाडौं जानुपथ्र्यो, त्यहाँ होटेलमा बस्न, आउन, जान गाडीभाडा लगायत धेरै खर्च हुन्थ्यो, ‘उनीहरले भने, ‘खर्च भए पनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगरिदिनेलगायतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियोे, अब घरछेउको गाउँपालिकाबाटै श्रम स्वीकृत पाउँदा निकै खुसी लागेको उनिहरुले बताए  ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, भ्याइदिन, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको बताए । खजुरा गाउँपालिकाले त्यस्तै कुनैपनि वैदेशिक रोजगारमा अलपत्र परेका,दुर्घटना परेर अङ्गभङ्ग भएका, मृत्यु भएका व्यक्तिहरुलाई पालिकाबाट सहजिकरण तथा सेवा प्रदान गर्दै आएकाे छ ।

१६ चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।

सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ । स्थानीय तहबाटै श्रम स्वीकृतका सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान जाहने नेपाली श्रमिकलाई सुविधा हुने भएको छ ।

प्रतिक्रिया