खजुरामा १ सय ३५ गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइयो

बाँकेको खजुरा गाउँपालिकाले देशभरी महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि प्रभावित गाईभैंसीलाई खोप अभियान सञ्चालन गरिएको छ। खजुरा गाउँपालिका पशु शाखाका अनुसार हालसम्मको अवधिमा १ सय ३५ गाईभैंसीमा यो रोग विरुद्धको खोप लगाइएको छ।

याे अवधिमा खजुरा गाउँपालिकाका ८ वटै वडामा गरी २ सय भन्दाबढी गाईभैंसीमा यो रोगको संक्रमण देखिएको छ। प्रभावित क्षेत्रका गाईभैंसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको खजुरा गाउँपालिका पशु विकास शाखाले जनाएको छ।

खजुरा गाउँपालिकामा हालसम्मको अवधिमा १ सय ३५ गाईभैंसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको गाउँपालिकाकाे तथ्यांक छ भने २ ७वटा गाईको मृत्यु भएको थियो। प्रभावित क्षेत्रका अन्य गाईभैंसीमा समेत यो रोग विरुद्धको खोप अभियान चलाइएको बताइएको छ। खजुरा गाउँपालिकामा१६ हजार भन्दाबढी गाईभैंसीलाइ लम्पी स्किन विरुद्धको खोप लगाइने भएको छ।
रोकथामका लागि सक्रिय गाउँपालिका खजुरा गाउँपालिकाले लम्पी स्किन रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशिघ्र शुरु गरेकाे छ। पालिकाहरुमा गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग महामारीलाई नियन्त्रण लिन पशु स्वास्थकर्मीहरुलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । खजुरा गाउँपालिकाले समन्वय गरी भेटेरिनरी तथा पशु सेवा विज्ञ खटाएको हो ।
रोगले महामारीको रूप लिन थालेपछि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक आफै भेटेरिनरी तथा पशु सेवा विज्ञ टाेली लिएर किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउने काममा खटेका छन। लम्पी स्किन रोग नियन्त्रणका लागि खजुरा गाउँपालिकाले आकस्मिक उपचारका लागि २ लाख ५० हजार छुट्याइएको र ओैषधि पनि खरिद गरेकाे खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिनुभयो । खजुराका ८ वटा भरिनै पशुलाई खोप लगाइने छ । ‘‘पशुहरू निको हुने र थपिने क्रम जारी रहेकाले करिब एक महिनाभित्र सङ्क्रमित दर न्यूनीकरण गर्ने अभियानमा गाउँपालिका जुटेका छौँ ।’’ अध्यक्ष विकले भन्नुभयो ।

कस्तो हुन्छ लक्षण?
उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण गाईमा देखिएको छ। शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन्।

साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यस रोगमा देखिन्छन्। यस रोगबाट एउटा क्षेत्रमा सामान्यतः २० प्रतिशतजति गाई बिरामी हुने र १ देखि ५ प्रतिशतसम्म मर्न सक्छन्।

धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने भएकाले खोरेँत रोगले जस्तै यो रोगले पनि ठूलो आर्थिक क्षति पुर्याउन सक्छ। यो रोग मानिसमा भने सर्दैन।

त्यस्तै, संक्रमित गाईभैंसीको आवतजावत र लसपसबाट तथा संक्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा पनि यो रोग सर्ने गरेको पाइएको छ।

प्रतिक्रिया