भुकम्प प्रभावित क्षेत्रमा पोषण बगैंचा बनाउदै बि ग्रुप

नेपालगन्ज : जाजरकोट भुकम्प प्रभावितहरुको पोषणमा सुधार ल्याउनका लागि बि ग्रुपले पोषण बगैंचा बनाउने अभियान संचालन गरेको छ ।

गत बर्ष जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भइ आएको भुकम्पले सबैभन्दा बढि क्षति पुर्याएको नलगाड नगरपालिकाको वडा नं. १ मा ३ सय ५० घरधुरीहरुको पोषणमा सुधार ल्याउनका लागि पोषण बगैंचा बनाउने अभियान संचालन गरिएको हो ।

एडब्लुओ इन्टरनेशनलको सहयोगमा पहाडी क्षेत्र विकास अभियानसंगको सहकार्यमा बी ग्रुपले पुर्नलाभ परियोजना सञ्चालन गरिरहेको छ ।

नलगाड वडा नं. १ मा भुकम्पले १२ सय भन्दा बढि घरहरु क्षतिग्रस्त हुनुको साथै सबैभन्दा धेरै २७ जना मानिसहरुको भुकम्पमा परि मृत्यु भएको थियो ।

भुकम्प गएको ६० घण्टामा नै खाद्य तथा गैर खाद्य सामाग्री सहयोग लिएर पुगेको बि ग्रुपले गत पौषदेखि नलगाड १ मा परियोजना संचालन गरिरहेको छ ।

नलगाड १ मा गर्भवती तथा सुत्केरी आमाहरुसंगको सहकार्यमा पोषण बगैंचा बनाउने कार्यक्रम संचालन भएको हो । पोषण बगैचामा बर्षभरि नै हरियो सागसब्जी उत्पादन गर्ने लक्ष्य रहेका परियोजनाले जनाएको छ ।

पोषण बगैंचाका बारेमा ३ सय ५० आमाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोषण बगैंचामा लगाउने तरकारीका विउहरु तथा मेवा, केरा, सितलचिनीका विरुवाहरु समेत वितरण गरिने जानकारी बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनले दिनुभएको छ ।

हरियो सागसब्जी खान समेत रुचि नभएको समूदायमा यस्ता प्रकारका कामहरुले सामूदायिक विकासमा सहयोग पुग्ने विश्वास लिएको नलगाड १ का वडा अध्यक्ष धन बहादुर महरले बताउनुभयो ।

पोषण सुधारका हरियो सागसब्जीले अत्यन्तै महत्वपूर्ण योगदान गर्ने भएकोले पोषण बगैंचा निर्माण अभियान फलदायी हुने विश्वास लिएको पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदिपजंग शाह भन्नुहुन्छ ।

परियोजनाले भुकम्प प्रभावित समूदायको आर्थिक जीवनस्तर बढाउनका लागि तथा सामूदायिक विकासका लागि मौरी सहितको मौरी घार, खानेपानीको धारा तथा रिजर्भ ट्यांकीको निर्माण, सिचाइ कुलोको मर्मत लगायतका क्रियाकलापहरु संचालन गर्ने जानकारी बी ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले बताउनुभएको छ ।

प्रतिक्रिया