हाँसको छोइला ! नेपालगन्जमा रुचिको परिकारमा पर्न थालेको छ। किसानले हाँस पाल्न छाड्दै गर्दा यसको छोइलाको स्वाद मिठो मान्नेहरू धेरै छन् ।
हाँसको छोइलालाई स्वादिष्ट बनाएर नेपालगन्ज र आसपासको शहरमा परिचित बनाउने श्रेय खजुरा गाउँपालिका वडा नम्बर ३ का स्थानिय बासिन्दा समेत रहेका नेपालगन्ज न्युरोडको फेवा रेस्टुरेन्टका संचालक राजकुमार थापालाई जान्छ।
जसले हाँसको छोइलालाई ब्राण्डिङ मात्रै गरेनन्, गाउँका किसानलाई हराउँदै गएको हाँस पालनमा समेत प्रोत्साहन गरिरहेका छन् ।
थापा भन्छन्, काठमाडौंमा हाँसको छोइला खाएको थिए त्यही देखेर नेपालगन्जमा पनि सम्भावना खोज्दै बनाउन शुरु गरेको हुँ। अहिले हाँसको छोइला खोज्दै म कहाँ आउनेहरू धेरै हुनुहुन्छ।’ हाँसको छोइला विक्रीका लागि नै थापाले २०६८
सालबाट नेपालगन्जको न्यूरोडमा फेवा रेष्टुरेन्ट शुरु गरेका थिए। म कहाँ मुख्यत हाँसको छोइलाकै लागि ग्राहकहरू आउँछन् । यो बिशेष परिकारका रूपमास्थापित भएको छ।’ थापा भन्छन्, हाँसको छोइलाको विक्री बढेपछि हाँस पालनमा समेत प्रोत्साहन भइरहेको छ।’ उनका अनुसार, फेवामा मात्रै मासिक सयवटा जति हाँसको छोइला विक्री हुन्छ।
ती हाँसहरू बर्दियामा ल्याउनुपर्ने बाध्यता छ। बाँकेमा खासै हाँस नहुने भएकाले बर्दियाबाट ल्याउने गरिएको बताउँदै थापा भन्छन्, एउटा हाँसको मूल्य न्यूनतम एक हजारदेखि दुईहजारसम्म पर्छ। बाँकेमै हाँसपालनको वातावरण भए राम्रो हुन्थ्यो ।’
हाँसको छोइलाको माग धेरै हुने भएकाले हाँसपालनमा समेत प्रोत्साहन गर्ने हो भने कृषकलाई फाईदा हुने देखिन्छ। तर त्यता तर्फ कसैको ध्यान गएको देखिदैन। थापा भन्छन्, यसबाट हामीलाई मात्रै होइन किसानलाई पनि प्रत्यक्ष फाईदा पुग्छ। त्यसैले हाँसपालनलाई प्रोत्साहन गर्नुपर्छ ।’