नेपालगन्ज : बाँकेमा आइतबार ‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ ३७ औं विश्व एड्स दिवस मनाईने भएको छ।
बाँकेमा सरोकारवाला सबै निकायहरुको सहभागीतामा आइतबार बिहान र्याली तथा बेलुका बिपि चोकमा सांगेतिक कार्यक्रम सहित ३७ औं विश्व एड्स दिवस मनाईने भएको हो ।
सांगेतिक कार्यक्रममा नेपाल आइडल सिजन ५ को उपाधि विजेता बर्दियाका करण परियार समेतको उपस्थिति रहने छ ।
यता विश्व एड्स दिवसको पूर्वसन्ध्यामा शनिबार नेपालगन्जमा आयोजित पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका एचआईभी फोकल पर्सन रविन्द्र साहले गत आवमा बाँकेमा १०१ जना एचआईभी संक्रमित फेला परेको जानकारी समेत दिएका थिए ।
बाँकेमा आर्थिक वर्ष २०८०/०८१ मा १० हजार ७ सय ५९ जनामा परिक्षण गर्दा १०१ जनामा एचआईभी संक्रमण देखिएको फोकल पर्सन रविन्द्र साहले बताए ।
साहका अनुसार संक्रमितहरुले भेरी अस्पतालबाट एआरटी सेवा लिदै आएका छन् । भेरीको एआरटी सेन्टरबाट अहिले ५ सय ८८ जनाले नियमित सेवा लिरहेको छन् ।
एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक संजयकुमार पौडेलले फाउन्डेसनले एचआईभी संक्रमितहरुको प्रभावकारी उपचार र रोकथामका सवालमा काम गर्दै आएको बताए । फाउन्डेसनले भेरी अस्पतालको एआरटी सेन्टरमा सन् २०१७ जुलाइदेखी काम गर्दै आएको छ ।
कार्यक्रममा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एचआईभी फोकल पर्सन डा संकेत रिसालले एचआईभीको अवस्था, यसका लक्षण चिन्ह, जोगिने उपाय र सचेतनाका सवालबारे जानकारी गराएका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले एड्स अन्त्यका लागि सचेतना अझै पनि जरुरी रहेको बताए । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले पछिल्लो समय एचआईभीको मुद्दा कमजोर भैरहेको बताए । उनले सरकारको प्राथमिकतामानै एचआईभीको मुद्दा नपरेको बताए । तीन तहको सरकार भएपनि संघीय र प्रदेश सरकारले एचआईभीको क्षेत्रमा बजेटनै नछुट्याएको बताए ।