नेपालगन्ज : नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई आज डुडुवा क्षेत्रमा चुनावी कार्यक्रमहरूमा सहभागी हुनुभएको छ। बिहान ८ बजेदेखि डुडुवामा राईको घरदैलो र कोणसभा चलिरहेको छ।

डुडुवा- २ बाट आज विहान चुनावी प्रचार-प्रसचार सुरु गर्नुभएका राईले दिउँसोदेखि घरदैलो गरिरहनुभएको छ। आज वडा नं २ का मतदाताहरूको घरघरै पुगेर राईले आफ्ना चुनावी अजेन्डाहरू प्रस्तुत गरिरहनुभएको छ। राइले डुडुवामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, दक्ष जनशक्तिको व्यवस्था गर्ने, बाढी र डुबानको समस्या समाधान गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

बाढी र डुबान नियन्त्रण गर्न डुडुवा १ र २ नम्बर वडा चौफेरी र पाझामा राप्ती नदीमा तथा डुडुवा खोलाका आवश्यक ठाउँहरूमा पक्की तटबन्ध निर्माण गर्ने राईले प्रतिबद्धतापत्र मार्फत घोषणा गरिसक्नुभएको छ। त्यस्तै वेतहनी-होलिया-चौफेरी-नरैनापुर जोड्ने सडक र त्यहाँ आवश्यक पर्ने पुलहरू निर्माण गर्न आफूले पहल गर्ने पनि उम्मेदवार राईको प्रतिबद्धता छ।

डुडुवा लगायत पालिकास्तरमा रहेका १५ शय्याका अस्पताल र स्वास्थ्य चौकीहरूलाई सुविधासम्पन्न बनाउँदै प्रसुति सेवा सुरु गर्न आफू क्रियाशील हुने राईको भनाई छ।
यसैबीच नेपाली कांग्रेसका नेता एवम् डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीको टोल सन्तलियाका दर्जनौं युवाहरू आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। एमाले प्रवेश गर्नुभएकाहरूलाई उम्मेदवार राई लगायतले स्वागत गर्नुभएको थियो।
उम्मेदवार राईले आजै साँझ नेपालगन्जको वडा नं ७ प्रगति मार्गमा कोणसभा र घरदैलो गर्ने कार्यक्रम तय भएको छ।














