कोरोना भाइरस बिरुद्ध संघले सचेतना अभियान शुरु गर्ने, अर्थतन्त्रमा असर पारेको भन्दै सहुलित दिन माग

नेपालगन्ज :

बिश्वभर फैलिएको कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने अवस्था सिर्जना भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक क्षेत्रमा सहुलिनतको घोषणा गर्न माग गरेको छ ।

संक्रमण रोक्ने अभियानमा सक्रियतापूर्वक अभियान सन्चालन गर्ने बताउँदै संघले बिश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना संक्रमणको अत्यन्त जोमिखपूर्ण राष्ट्रको सूचिमा राखेकाले उच्च सतर्कता अपाउनुपर्ने आवश्यकता देखिएको जनाएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती प्रकाशित गरी कोरोना भाइरसले बिश्व अर्थतन्त्रमा पारेको प्रभावले पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज पनि अछुतो नभएको उल्लेख छ ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० समेत स्थगन गरिसकेको अवस्था छ । पूर्वसावधानीका कारण आयात निर्यात कार्य लगभग ठप्प जस्तो हुँदै छ भने राज्यभित्र सन्चालनमा रहेको उद्योग व्यवसाय समेत धरासायी बन्न सक्ने भयावह अवस्था सामु देखिदै छ ।

राज्यले अंगिकार गरेको नीति, नियमलाई आत्मसात गरी व्यवसाय सन्चालन गर्दै आइरहेका उद्योगी, व्यवसायीहरुले उद्योग कलकारखाना तथा व्यवसाय सन्चालनार्थ लिएको ऋणको ब्याज तिर्न हालको र अवको परिस्थिती अनुकुल देखिदैन ।

यस्तो अवस्थामा एकातर्फ आवतजावत, सभा सम्मेलन एवं सामुहिक क्रियाकलापहरु नगर्न सरकारका तर्फबाट अनुरोध भएको अवस्था छ भने अर्कोतर्फ कच्चा पदार्थ आयातमा कठिनाई तथा वित्तीय संस्थाबाट लिएको ऋण ब्याज समयमै तिर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण व्यवसायी निरास भएको संघले जनाएको छ ।

जसले गर्दा चैतसम्म बुझाउनुपर्ने दोस्रो किस्ता वापतको आयकर तिर्नसम्म नसक्ने अवस्था सिर्जना हुँदै छ । संघले यस्तो अवस्थामा उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत प्रतिकुल असर पार्ने कोरोना भाइरस प्रभावित समयसम्मका लागि व्यवसायिक संक्रमणकालको घोषणा गरी सहुलियत प्रदान गर्न सरकारको गम्भीर ध्यानार्कषण गराएको छ ।

नेपालगन्जसंग सीमा जोडिएको भारतको उत्तरप्रदेश राज्यमा समेत कोरोनाको संक्रमण बढ्दै गएको परिस्थितीमा सचेत र सजग बन्दै खुल्ला सीमाना हुँदै नेपाल भित्रिने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानलाई अझ प्रभावकारी बनाउनका लागि अपील गर्दै संघले कोरोना भाइरसको संक्रमण रोक्ने सरकारी अभियानमा पूर्ण साथ र समर्थन रहेको जनाएको छ ।

साथै दैनिक उपभोग्य सामाग्रीहरु सर्वशुलभ रुपमा उपलब्ध गराउन र कुनै प्रकारको समस्या सिर्जना हुन नदिनु हुन सम्पूर्ण उद्योगी, व्यवसायीलाई हार्दिक अपील गर्दै संघले उपभोक्ता वर्गले अभाव हुने आशंकामा आवश्यकता भन्दा बढि खरिद र भण्डारण नगरिदिनुहुन समेत आह्वान गरेको छ ।

प्रतिक्रिया