
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ । बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो ।
अब बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर अर्थात १६ खर्ब ६६ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले द्रुत गतिमा प्रवाह हुनेगरी नयाँ सहायताको राशी घोषणा गरिएको विश्व बैंकले जनाएको छ । यो प्याकेजले महामारीलाई सम्बोधन गरिरहेका स्वास्थ्य सेवा र यससँग सम्बन्धित उच्च मागको सामना गरिरहेका चिकित्सा उपकरण, औषधी उद्योग जस्ता क्षेत्रहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
यो प्याकेजले कोरोनाको विस्तारले व्यवसाय र तिनका कारणदारलाई वित्तीय तथा आर्थिक प्रभाव न्यूनीकरणमा तत्काल सहयोग पुर्याउँछ,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले भने, ‘विश्व बैंक विकासशील राष्ट्रहरुको आवश्यकता अनुसार छिटो, छरितो ढंगले सम्बोधनका लागि प्रतिबद्ध छ । सहायता कार्यहरु पहिले नै शुरु भैसकेका छन्, आज स्वीकृत विस्तारित वित्तिय उपकरणले अर्थतन्त्रहरु, कम्पनीहरु र रोजगारी बचाउन मद्दत गर्नेछ ।’
यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर अर्थात ९ खर्ब ५२ अर्ब रुपैयाँ सहायता रकम घोषणा गरेको थियो । यसअघिको सहायता रकममा ६ अर्ब अर्थात ७ खर्ब १४ अर्ब रुपैयाँ सहायता प्याकेज ल्याएको थियो ।
महामारी फैलँदै गएपछि बैंकअन्तर्गतको आइएफसीले सहायता रकम बृद्धि गरेको हो । आइएफसी फाइनान्सिङको पछिल्लो एकमुष्ठ रकम वित्तीय संस्थाहरुलाई व्यापार लगानी, पूँजीगत सहायता र मध्यकालिन वित्तीय पक्षपोषण खर्च गरिनेछ ।
सन् २००८ को विश्वव्यापी वित्तीय संकट र पश्चिम अफ्रिकी इबोला भाइरसको महामारीको समयमा तत्कालै परिचालित आइएफसीसँग विकासशील देशका निजी क्षेत्रका गतिविधि र आर्थिक विस्तारमा उत्पन्न बाधाव्यवधान सम्बोधनका लागि विश्वव्यापी र क्षेत्रीय संकटसँगका प्रतिवाद पहलकदमीमा सफल पदचाप रहेको छ ।










