नेपालगन्ज :

सरकारले कोरोना भाइरस ( कोभिड-१९ ) नियन्त्रणका लागि भन्दै सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । सिनेमा हल संगै खेलस्थल, जिम, डान्स बार तथा क्लब जस्ता क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ।
कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो।
बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो।
यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ।
त्यस्तै नेपालगन्जको सिनेमाहल QFX बागेश्वरी सिनेमाजका म्यानेजर निरज मान शाक्यका अनुसार त्यस्तो किसिमको कुनै परिपत्र नआएको र QFX हेड अफिसबाट त्यस्तो कुनै परिपत्र आए सिनेमा हल बन्द हुने र बन्दको लागि आधिकारिक चिट्ठी नआए सम्म सिनेमा हल चल्ने बताएका छन् , भने आजका दिन सम्म दर्शकको चाप राम्रै रहेको र व्यापार समेत राम्रो रहेको शाक्यले बताएका छन् ।











