नरैनापुर :

बाँकेको नरैनापुर गाउँपालिकामा भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । पछिल्लो समय भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न गाउँपालिकाले सक्रियता देखाएको हो । भारतका विभिन्न सहरहरुमा मजदुरी गर्न गएका स्थानीयहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको छ ।
बाहिरबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न थालिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । भारतमा अलपत्र परेका नेपाली चोर बाटो भएर आउने क्रम नरोकिएकाले नाका क्षेत्रमा निगरानी बढाएर उनीहरुको स्वास्थ्य चेकजाँच गरी अनिवार्य क्वारेन्टाइनमा बसाउन थालिएको शाहले जानकारी दिनुभयो ।
भारतबाट आएका वडा नम्बर ५ र ६ का ७० जनालाई वडा नम्बर ६ स्थित जयकिसान माविमा राखिएको छ । त्यसअघि हिजै ३० जनालाई नेपालगञ्ज पु¥याई उनीहरुको स्वास्थ्य चेकजाँच गरिएको वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताउनुभयो । उनीहरु सबैको अवस्था सामान्य रहेको पाइएको छ । नेपालगञ्जस्थित एक होटलको क्वारेन्टाइनमा अहिले नरैनापुरका ३० जना छन् ।
गाउँपालिकाले कारोना आशंकित व्यक्तिहरुलाई राख्न वडा नम्बर ४ को खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा १० शैयाको क्वारेन्टाइन केन्द्र बनाएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।
उहाँले बाहिरबाट आएकालाई स्वास्थ्य जाँच गरी आवश्यकता अनुसार गाउँपालिकाले बनाएको क्वारेन्टाइन वा घरमै पनि एक्लै बस्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले बाहिरबाट आएकालाई क्वारेन्टाइनमा बसिदिन आग्रह गर्नुभएको छ ।









