एजेन्सी :

कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण सात लाख ८५ हजार ७१२ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।विभिन्न मुलुकबाट उपलब्ध तथ्याङ्क अनुसार मंगलबारसम्म ३७ हजार ८१४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ भने एक लाख ६५ हजार ६०५ जना निको भएर घर पmर्केका छन ्।
सङ्क्रमणका कारण विश्वभर विगत २४ घण्टामा मात्रै दुई हजार बढिको मृत्यु भएको अमेरिकास्थित जोन हकिन्स विश्वविद्यालयले जानकारी गराएको छ ।
पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा अत्यधिक बढेको दखिएको छ । दुई हप्ता पहिले अमेरिकामा छिटफुटरूपमा सङ्क्रमण भेटिने गरेकोमा यो सङ्ख्या गत हप्ताको अन्त्यतिर अत्यधिक बढेको थियो । अमेरिकाले गत हप्ता अत्यधिक व्यक्तिको सङ्क्रमण परीक्षण भएका कारण सङ्ख्या अत्यधिक बढेको जनाएको छ ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ११ हजार ५९१ व्यक्तिको मृत्यु भएको छ भने एक लाख १ हजार ७३९ व्यक्ति सङ्क्रमित भएका छन् ।
स्पेनमा ८७ हजार ९५६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ७१६ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ८१ हजार ५१८ सङ्क्रमित भएकोमा तीन हजार ३०५ व्यक्तिको मृत्यु भएको छ । चीनमा पछिल्ला केही हप्तादेखि मृत्युदर एकल अङ्कमा रहने गरेकोे छ । चीनमा पछिल्लो समय भेटिएका सङ्क्रमित अधिकांश विदेशबाट चीन आएका व्यक्ति रहेका छन् । चीनले यसअघि नै छिटफुट घटनाबाहेक कोरोनासङ्क्रमण नियन्त्रणमा आइसकेको बताएको छ ।
जर्मनीमा सङ्क्रमित ६६ हजार ८८५ पुष्टि भएको छ भने ६४५ जनाको मृत्यु भएको छ । इरानमा ४४हजार ४५५ सङ्क्रमण र दुई हजार ७५७ जनाको मृत्यु भएको छ । फ्रान्समा ४० हजार १७४ व्यक्तिमा सङ्क्रमण, तिन हजार २४जनाको मृत्यु, बेलायतमा २२ हजार १४१ व्यक्तिमा सङ्क्रमण, एक हजार ४०८जनाको मृत्यु भएको छ ।
एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या नौ हजार ७८६ रहेको छ भने १६२ जनाको मृत्यु भएको छ । जापानमा १९५३ व्यक्तिमा सङ्क्रमण र ५६ जनाको मृत्यु भएको छ ।
दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ७१७ सङ्क्रमित छन् भने २१ जनाको मृत्यु भएको छ । भारतमा एक हजार २१२ जना सङ्क्रमित छन् भने ३२ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।










