नरैनापुरमा ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ खडा

नरैनापुर :

नरैनापुर गाउँपालिकाले 'कोरोना भाइरस संक्रमण उपचार कोष'

कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँकेको नरैनापुर गाउँपालिकाले ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ खडा गरेको छ ।

गाउँपालिकाले १५ लाखको कोष खडा गरेर आजदेखि खाता संचालन गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो । कोषमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ जम्मा गर्नुभएको छ ।

अध्यक्ष शाहले कोषमा सक्दो रकम जम्मा गरेर कोरोना विरुद्ध गाउँपालिकाले थालेको अभियानमा सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ । कोरोनाको संक्रमण रोक्न तथा विपन्न बर्गको राहतको लागि कोष खडा गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

गाउँपालिकाको नरैनापुरस्थित सनराइज बैंकको खाता नम्बर ०७४०४८८०८७७०१००५ मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरिएको छ ।

‘कोरोना विरुद्धको अभियानमा रकमको अभाव हुन नदिन आजदेखि खाता संचालन गरेका छौं, अध्यक्ष ज्युले २५ हजार जम्मा गरेर खाताको सुरुवात गर्नुभएको छ,’ लेखापाल प्रकाश अधिकारीले भन्नुभयो ।

गाउँपालिकाले खोदवाँ, भोजपुर र नेपालगन्जमा क्वारेन्टाइन संचालन गरेको छ । जहाँ अहिले १ सय २९ जना रहेको स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिनुभयो।

भारतमा मजदुरी गर्न गएका स्थानीय चोर बाटो हुँदै आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौति थपिएपनि सक्दो प्रयास गरेरर क्वारेन्टाइनलाई प्रभावकारी बनाउन लागिपरेको अध्यक्ष शाहले बताउनुभयो ।

प्रतिक्रिया