शीतलहरको पीडा : परालै सिरक, परालै डसना !

जनकपुरधाम:

चिसोको पीडा :परालै सिरक, परालै डसना !

झुपडीभित्र पराल बिछ्याइएको छ। रातभरको ओसले पराल पनि ओसिलो छ।

त्यसमाथि च्यातचुत परेको एउटा प्लास्टिकको बोरा ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छिन रेमनी सदा।

धनुषा लक्ष्मीनिया गाउँपालिका-७ मुसहरी टोल निवासी रेमनीका पति तीन वर्षअगाडि बितेका थिए।

छोराबुहारी र नातिनातिनाले घर छाडेर गएपछि रेमनीलाई अहिले खानबास्नकै समस्या छ। उनलाई यतिबेला शीतलहरले हैरान पारेको छ।

आफ्नो खेत पनि छैन उनको। अर्काको खेतबाट माँगेर ल्याएको पराललाई जाडोमा ओढ्ने–ओेछ्याउने बनाएर शीतलहर छल्ने प्रयास गर्छिन् उनी।

पाँच वर्षअघि केही सहयोगीले बस्तीमा ओढ्ने पात्लो कम्बल बाँडेका थिए। सोही कम्बलको सहारामा छिन् उनी।

मुसहरी टोलका करिब ८० परिवार अति विपन्न मुसहर चिसो परालकै भरमा रात कट्दै आएका छन्।

श्रीवतीदेवी सदा चार छोराछोरीसँगै झुपडीमा परालकै ओछ्यानमा शीतलहर काट्दै छिन्।

छोराछोरीका लागि केही न्यानो लुगा जोहो गर्न पाए जाडो काट्न सजिलो हुने बताउँछिन् उनी।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रतिक्रिया