नरैनापुरका ६ वटै वडामा राहत वितरण शुरु

राहत बाँडेको फोटो अनावश्यक रुपमा पोष्ट नगर्न अध्यक्षको निर्देशन


नरैनापुर :

बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि राहत वितरण शुरु भएको छ ।

पालिकाका ६ वटै वडामा राहत वितरण शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटा वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिँदैछ ।

प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नुन र २ वटा साबुन वितरण गरिएको खरालले बताउनुभयो ।

‘६ वटै वडामा एक साथ राहत वितरण शुरु गरेका छौं, सामाजिक दुरी कायम गरेर वडा कार्यालय मार्फत् वितरण भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो–‘देखाउनकै लागि अनावश्यकरुपमा राहत बाँडेको फोटो सामाजिक सञ्जालमा नराख्न जनप्रतिनिधि सबैलाई निर्देशन दिएको छु ।’

गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले वडाले पहिचान गरेका श्रमिक र असहायहरुका लागि एकद्वार प्रणालीबाट राहत बाँडिएको बताउनुभयो ।

प्रतिक्रिया