डब्ल्यूएचओ चीनकेन्द्रित भएको ट्रम्पको आरोप, रोके आर्थिक सहयोग

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा ‘न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको’ उनको आरोप छ । चीनमा कोरोनाभाइरस देखिएपछि सङ्क्रमणसम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको पनि राष्ट्रपति ट्रम्पले आरोप लगाए ।

डब्ल्यूएचओलाई जवाफदेही बनाउनैपर्ने उनको भनाइ छ । यसअघि ट्रम्पले डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका थिए । उनले डब्ल्यूएचओ चीनकेन्द्रित भइरहेको आरोप प्रायः लगाउने गरेका छन् ।

अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर ट्रम्प आफैँले आलोचना खेपिइरहेका छन् । तर मङ्गलवार उनले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढङ्गले बचाउ गरेका थिए ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोनाभाइरसको सङ्क्रमण फैलने विषयलाई एकदमै नराम्रो ढङ्गले व्यपस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु ।’

‘आफ्नो न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको छ र उसलाई जवाफदेही बनाउनैपर्छ,’ ट्रम्पले थपे । अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्छ जसले गत वर्ष ४० करोड डलर उपलब्ध गराएको थिए । यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशतभित्र पर्छ ।

‘कोभिड-१९ को महामारी विश्वव्यापी फैलिएपछि हामीले अमेरिकी उदारताको उत्कृष्ट सदुपयोग भए वा नभएकोबारे हाम्रो गहिरो चासो छ,’ ट्रम्पले भने ।

प्रतिक्रिया