
कोरोनाभाइरसबाट बेलायतमा एक लाखभन्दा बढी संक्रमित भएका छन् । योसँगै बेलायत एक लाखबढी संक्रमित भेटिने छैटौँ देश भएको छ । बिहिबार चार हजार ६१७ नयाँ बिरामी भेटिएसँगै त्यहाँ संक्रमितको संख्या एक लाख तीन हजार ९३ पुगेको छ ।
बिहिबार मात्र त्यहाँ ८६१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । बेलायत १० हजारभन्दा बढीको मृत्यु हुने पाचौँ देश हो ।
एक लाख ३९ हजारभन्दा बढी संक्रमित भेटिएको जर्मनीमा मृत्युदर कम छ । त्यहाँ चार हजार ५२ जनाले ज्यान गुमाएका छन् ।
एक लाखभन्दा बढी संक्रमित भेटिने ६ देश अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी र बेलायत हुन् । अमेरिकामा संक्रमितको संख्या ६ लाख ७७ हजारभन्दा बढी छन् । तर, अन्य देशमा दुई लाख पुगेका छैनन् ।
यसैबीच बेलायतले कोरोनाभाइरस नियन्त्रणका लागि लगाएको बन्दाबन्दी कम्तीमा थप तीन साता लम्ब्याएको छ ।
विदेश मन्त्री डोमिनिक राबले दैनिक प्रेस ब्रिफिङमा संक्रमण दरलाई अझै घटाउन नसकिएकाले बन्दाबन्दी थपिएको बताए । त्यहाँ गत २३ मार्चदेखि नै बन्दाबन्दी गरिएको छ ।
बेलायत सरकारले मान्छेहरुलाई घरैमा बस्न अनुरोध गरेको छ । अधिकांश व्यवसाय बन्द गर्न आदेश दिइएको छ भने दुई जनाभन्दा बढीलाई जम्मा हुन दिइएको छैन ।











