गुराँसे डाँडामा ढकमक्क गुराँस

ज्ञानु सङ्गम खड्का

गुराँसे डाँडामा ढकमक्क गुराँस

नेपाल अरु कुरामा अन्य देशभन्दा पछाडि रहेपनि पर्यटकीय दृष्टिकोणले धेरै गुणा अगाडि छ। नेपालका तालतलैया, हिमाल, नदिनाला, हावापानी , वनजंगल, डाँडाकाँडा लगायतका स्रोत साधनहरु यसको ज्वलन्त उदाहरण हुन।

नेपालका धेरै पर्यटकीय स्थलहरुले लाखौं आन्तरिक तथा वाह्य पर्यटकहरुको मन जितेका छन। पर्यटकहरू जहिले पनि नयाँ नयाँ कुरा अनि ठाउँ रुचाउँछन् । आफुले नदेखेको मनोहरम ठाउँहरुमा घुम्न त अति उत्साहित हुन्छन।

यस्तै आजभोलि पर्यटकको धेरै रोजाइ अनि गन्तव्य स्थलमा पर्न सफल एक मनोहरम स्थल हो दैलेख जिल्लाको गुराँसे डाँडा। दैलेख जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको यस गुराँसे डाँडा कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि २५ किलोमिटरको दूरीमा पर्छ।

यस डाँडाको नामबाटै थाहा पाउन सकिन्छ कि यसको प्रमुख आकर्षण के हो भनेर। वसन्त ॠतुको आगमनसँगै ढकमक्क फुल्ने “लालिगुराँस” नै यस डाँडाको प्रमुख आकर्षण हो। आजभोलि यस डाँडाको रुपरङ्ग नै फेरिएको छ।

थरिथरिका गुराँस फुलेर रङ्गिएको यो डाँडा अत्यन्तै मनमोहक देखिन्छ। दैलेख बजारबाट यस डाँडा तर्फ नजर लगाउँदा जो कोहीलाई यतिबेला लाग्छ, त्यहाँ फुलेका रंगीचंगी गुराँसले मानिसहरुलाई स्वागत गर्न आतुर छन।

गुराँसे डाँडामा ढकमक्क गुराँस

तर यतिबेला विश्वभरि नै फैलिएको कोरोना भाइरस संक्रमण कम गर्न नेपाल लकडाउनमा रहेको छ। सायद यो समयमा लकडाउन नभएको भए गुराँस फुलेर रङ्गीचङ्गी भएको यो डाँडामा हजारौं मानिस रमाएका हुन्थे ।

अनि यस डाँडाको प्राकृतिक सुन्दरता पनि आफ्नो स्वरुप देखाउन दिनहुँजसो नयाँ नयाँ मानिसको पर्खाइमा हुन्थ्यो । दुर्भाग्य, महामारीका कारण देश यतिबेला जोखिम परिस्थितिमा छ। मानिसहरु घरबाहिर निस्किन पाएका छैनन् ।

डाँडाभरि फूलेको गुराँसले भरिएको मनमोहक दृष्य यस्तो लाग्छ यतिखेर भइरहेको लकडाउन वास्ता नगरीकन गुराँससंगै डाँडामा रमाउन गइदिउँ। तर हजारौं मानिसहरुको भिड लाग्ने यो समयमा गुराँसले भरिएको यो डाँडा यतिबेला सुनसान छ। लाग्छ गुराँसले श्रिङ्गारिएको यस डाँडाको मनमोहक श्रिङ्गार त्यसै खेर गइरहेको छ ।

यदि लकडाउन नभएको भए यो समयमा गुराँस हातमा लिएर र कानमा सिउँरिएर तस्वीर र ‘सेल्फी’ खिच्नेको घुइँचो लाग्ने गर्थ्यो अनि यस डाँडाका रंगीचंगी गुराँसका हजारौं तस्वीरहरु सामाजिक सन्जालमा अपलोड भएका हुन्थे। यसै डाँडाको राखिएको गुराँस गाउँपालिका भित्र यो डाँडा पर्ने गर्छ। अझै यस डाँडामा लाखौं पर्यटकहरू भित्र्याउन स्थानीय तहले संरक्षण , विकास अनि प्रबर्द्धन एवम् व्यापकरुपमा प्रचारप्रसार गर्न आवश्यक छ।

प्रतिक्रिया