
बाँकेको जानकी गाउँपालिकाको नहरचोकदेखि साहदतपुर जोड्ने सडकको निर्माण कार्य आजबाट शुरु गरिएको
छ ।
गाउँपालिका वडा नं. ४ मा पिप्रहवा नहरचोक लिङ्करोडको सहायक रोडका रुपमा निर्माण गर्न थालिएको यो सडकको आज गाउँपालिका अध्यक्ष रामनिवास यादवले शिलान्यास गर्नुभएको छ ।
कोरोना भाइरस संक्रमण रोकथामको लागि जारी बन्दाबन्दीले विकासका काम प्रभावित हुन नदिन काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी भैरवनारायण जेवीले ठेक्का पाएको छ । गाउँपालिकाको डेढ करोड र प्रदेश सरकारको डेढ करोड गरी तीन करोड लगानीमा सडक निर्माण शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।
कूल दुई किलोमिटर लम्वाई रहेको यो सडकको चार मिटर चौडाई हुने छ त्यसमध्ये पौने ४ मिटर कालोपत्रे गरिने प्राविधिक प्रमुख निसार अहमद दर्जीले बताउनुभयो ।









