नरैनापुरबाट ५६ जनाको स्वाब संकलन

नरैनापुर :

नरैनापुर गाउँपालिकाबाट आज ५६ जनाको स्वाब संकलन

बाँकेको नरैनापुर गाउँपालिकाबाट आज ५६ जनाको स्वाब संकलन गरिएको छ ।

त्यहाँ रहेका मस्जिद र मदरसाका ३१ जना मौलाना, मन्दिरका ७ जना पुजारी तथा क्वारेन्टाइनमा रहेका १५ जना, क्वारेन्टाइनका २ जना स्वास्थ्यकर्मी र सहयोगी १ जना गरी ५६ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

संकलन गरिएको स्वाब परिक्षणका लागि भेरी अस्पताल पठाइएको शाहले जानकारी दिनुभयो । मुस्लिम आयोगद्वारा गठित जिल्ला स्तरीय अनुगमन समितिको नेतृत्वमा गएको स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना परिक्षणका लागि स्वाब संकलन गरेको हो ।

केही दिन अघि जिल्लाका विभिन्न धार्मिक संस्थाहरुमा बस्ने ब्यक्तिहरुको स्वाब लिएर संकलन गर्ने निर्णय अनुसार आज नरैनापुरबाट स्वाब लिइएको अनुगमनमा सहजीकरण गर्ने जिम्मेवारी पाउनुभएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनुभयो ।

अनुगमन समिति संयोजक संविधानसभा सदस्य एवं मुस्लिम अगुवा अब्दुल हमिद सिद्दिकी(भोला)को नेतृत्वमा गएको टोलीमा गाउँपालिका अध्यक्ष शाह, समितिका प्रवक्ता मानव अधिकारकर्मी आलम खान, समिति सदस्य मेराज हल्वाई, वडा नम्बर ४ का समाजसेवी मोहम्मद सलिम मुसलमान लगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया